आज देशैभर वर्षाको सम्भावना

आज देशैभर वर्षाको सम्भावना


काठमाण्डु – हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।

दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू‍भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भूभागमा साधरणतया बादल लाग्नेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यता काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट एकैचोटि ८ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।

महाशाखाका अनुसार बुधबार बिहान ५ ः ४५ बजे काठमाण्डुको न्यूनतम तापक्रम ८‍.५ डिग्री सेल्सियसमा उक्लिएको हो।