काठमाण्डु – पश्चिम नेपाल भएर भित्रिने पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ ।
बिहीबारदेखि शनिबारसम्म मेघगर्जन–चट्याङ्ग, हावाहुरी, असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार साँझ बदली हुने र हावाहुरीसहित पानी पर्न सक्नेछ भने शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक, दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै, कोशी र बागमतीका पहाडी र हिमाली भूभागलगायत सुदूरपश्चिम तराईका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षा हुने देखिन्छ ।
शुक्रबार राति पनि कोशी, मधेश, बागमतीमा पानी पर्ने आकलन गरिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागमा पनि पनि पर्नेछ । यो प्रणालीका कारण शनिबार पनि वर्षा हुने देखिन्छ ।
प्रि–मनसुन भएकाले मेघगर्जन, चट्याङसहित असिनापानीको सम्भावना रहेको विभागको भनाइ छ । प्रि–मनसुनमा पश्चिमी र स्थानीय वायु कायमै रहने भए पनि न्यूनचापीय प्रणाली मिसिन थालेको हो ।





प्रतिक्रिया