आज र भोलि ठूलो वर्षा र हावाहुरीको सम्भावना

आज र भोलि ठूलो वर्षा र हावाहुरीको सम्भावना

११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हुरी चल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न ठाउँमा शुक्रबार र शनिबार ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । साथै दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने अनुमान छ ।

शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका ठाउँमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हुरीका कारण रुख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकोले सचेत हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न तथा हावाहुरी चलेका बेला घरको इन्धन बन्द गर्न, सुरक्षित ठाउँमा बस्न र गाडी नचलाउन भनेको छ । साथै कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुन सक्ने भएकाले विद्युत् उपकरण नचलाउनसमेत प्राधिकरणको अनुरोध छ ।

कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । धेरै ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको यो बेला दिउँसोपछि जुनसुकै ठाउँमा पनि हावाहुरी चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।