पानी चक्रबारे नयाँ खोज, जलवायु पूर्वानुमानमा सहयोग पुग्ने

पानी चक्रबारे नयाँ खोज, जलवायु पूर्वानुमानमा सहयोग पुग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु- चिनियाँ तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले तिब्बती पठार क्षेत्रमा पानीको वायुमण्डलीय चक्र कसरी सञ्चालन हुन्छ भन्ने महत्वपूर्ण प्रक्रिया पत्ता लगाएका छन्। “एसियन वाटर टावर” भनेर चिनिने यस क्षेत्रको अध्ययनले जलवायु परिवर्तनका असर बुझ्न र भविष्यका मौसम पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने वैज्ञानिकहरूले बताएका छन्।

यो अनुसन्धान चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानले अन्तर्राष्ट्रिय वैज्ञानिकहरूसँग मिलेर गरेको हो। अध्ययनको नतिजा प्रतिष्ठित वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित भएको छ।

वैज्ञानिकहरूका अनुसार तिब्बती पठारबाट बग्ने नदीहरूले करिब २ अर्ब मानिसलाई पानी उपलब्ध गराउने भएकाले यस क्षेत्रलाई “एसियन वाटर टावर” भनिन्छ। लामो समयदेखि पश्चिमी हावाले ल्याउने चिस्यान वर्षा नभएको अवस्थामा स्थानीय पानी चक्रमा कसरी मिसिन्छ भन्ने विषय स्पष्ट थिएन।

अनुसन्धान टोलीले “भर्टिकल कन्वेयर” नामक प्रक्रिया पत्ता लगाएको जनाएको छ। यस प्रक्रियाअनुसार पश्चिमी हावाले टाढाबाट ल्याएको चिस्यान रातको समयमा तल झर्ने गर्छ। त्यस क्रममा चिसो हावाका तहहरूले माथिल्लो सुख्खा हावा र तल्लो भिजेको स्थानीय हावालाई अलग बनाउँछन्। पछि त्यही चिस्यान बिस्तारै स्थानीय वातावरणमा मिसिने वैज्ञानिकहरूको निष्कर्ष छ।

अनुसन्धानले वर्षा नभए पनि पश्चिमी हावाले ल्याएको करिब ३० प्रतिशत चिस्यान स्थानीय पानी चक्रमा समावेश हुने देखाएको छ।

वैज्ञानिकहरूले “जिमु बेलुन” नामका विशेष उपकरण प्रयोग गरेर आकाशको विभिन्न उचाइमा पानीको बाफ, तापक्रम र हावाको अवस्था मापन गरेका थिए।

अनुसन्धानकर्ताहरूका अनुसार यो खोजले हिमनदी पग्लिने प्रक्रिया, पानीको भविष्यको अवस्था तथा जलवायु परिवर्तनका असरबारे अझ स्पष्ट अध्ययन गर्न मद्दत पुग्नेछ। साथै भविष्यमा मौसम तथा जलवायु मोडेललाई थप प्रभावकारी बनाउन पनि यसले सहयोग गर्ने अपेक्षा गरिएको छ।