काठमाण्डु – हाल देशको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।
जसका कारण देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको स्थिति बनेको छ । अहिले देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ।
यसै प्रभावका कारण कोशी प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा, अनि बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ। यस्तै, मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मौसम बिग्रेर मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ। बाँकी हिमाली र पहाडी भूभागका पनि एक-दुई स्थानमा यस्तो मौसमी गतिविधि हुन सक्ने देखिन्छ।
यता मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा भने तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको छ।




प्रतिक्रिया