मधेश बाहेक सबै प्रदेशमा वर्षाको सम्भावना

मधेश बाहेक सबै प्रदेशमा वर्षाको सम्भावना


काठमाण्डु- हाल पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। जसका कारण कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली भएको छ। मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने लुम्बिनी र कर्णाली प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो र राति देशका हिमाली र पहाडी क्षेत्रका साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ।

यसैगरी कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

तराई क्षेत्रतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यता पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित बन्ने देखिन्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर अर्थात् लु चल्ने सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही क्षेत्रमा पनि अत्यधिक गर्मी भई तातो दिन हुने महाशाखाको पूर्वानुमान छ।