काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू(भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशमा भने आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
सोमबार देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने देखिन्छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा भने आंशिक बदली हुनेछ।
देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षा हुने देखिन्छ। कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया