महोत्तरी – चिसो बतास चलेर ठाउँठाउँमा पानी परेपछि बढेको गर्मीबाट केही राहत मिलेको यहाँका स्थानीय बताउँछन् । जेठ लागेयता पानी नपरेर लगातार बढ्दो तापमानले प्रभावित भएको जनजीवनमा आइतबार साँझदेखि चिसो बतास चल्नुका साथै ठाउँठाउँमा पानी परेपछि केही राहत भएको हो ।
महोत्तरीमा आइतबार साँझ पूर्व–पश्चिम राजमार्ग वारिपारि क्षेत्रमा केहीबेर मेघगर्जनसहित पानी परेपछि शीतल महसुस गरिएको छ । “खेतीपातीलाई साथ मिल्ने र सुकेका पानीका मुहान रसाउने गरी त पानी पर्न सकेन, तर चिसो बतास चलेपछि मौसम शीतल भएको छ”, बर्दिबास–२ बारनचौडीका उमेश आचार्यले भने, “पानी परेर चिसो भएपछि हिँडडुल गर्न सहज भएको छ ।” उनका अनुसार मौसममा सामान्य फेरबदल हुँदा पनि यहाँका स्थानीयले निकै राहत महसुस गरेका छन् ।
जेठ मध्ययता एकाबिहानैदेखि लाग्ने टड्कारो घाम आज मलिन भएको छ । आकाशमा काला बादलका टुक्रा देखिँदा र चिसो बतास चलिरहँदा अब राम्ररी पानीपर्ने आस जागेको यहाँका स्थानीय बताउँछन् । जेठ मध्ययता हिजो अपराह्नसम्म केही घटबढ हुँदै तापमान ४४ डिग्री सेल्सियससम्म मापन गरिएको थियो ।
आज बिहान महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहामा जडित मौसम सूचना केन्द्र (स्टेसन) ले तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल देखाएका र पानी पर्नसक्ने सङ्केत दिइरहेका दैनिक मौसम सूचना हेरी रहनुभएका बर्दिबास–६ का नीलबहादुर लुम्रेले बताए । “मैले निरन्तर मौसम स्टेसनका सूचना हेर्दै छु, आइतबार साँझयता तापमान घटेको र पानी पर्ने सम्भावना देखाइएको छ” उनले भने, “यसले अब केही त्राण (राहत) पाइन्छ कि भन्ने आस जागेको छ ।”




प्रतिक्रिया