काठमाण्डु – बिहीबार देशभर आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनी न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेकाले केही कमजोर जस्तो भए पनि मनसुनी गतिविधि सक्रिय नै रहेको मौसमविदको भनाई छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।




प्रतिक्रिया