देशभर तापक्रम घट्दो,तराईमा बाक्लो हुस्सु र कुहिरो

देशभर तापक्रम घट्दो,तराईमा बाक्लो हुस्सु र कुहिरो


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान  गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण अहिले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिक बदली हुनेछ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन मौसमविदले अपिल गरेका छन् । यस्तै तराईका अधिकांश भू–भाग तथा पहाडका केही भू–भागमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेका छन् ।