शुक्रबारसम्म देशभर वर्षा र भारी हिमपात हुने, सतर्कता अपनाउन महाशाखाको आग्रह

शुक्रबारसम्म देशभर वर्षा र भारी हिमपात हुने, सतर्कता अपनाउन महाशाखाको आग्रह


काठमाडौं – आज (बुधबार) रातिबाट मौसम बदली हुने जल तथा मौसम पर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता घाम लागेपनि देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले बुधबार रातिबाट भारी हिमपात र वर्षा हुने महाशाखाले जनाएको छ ।

भोलि (बिहीबार)बाट भने यसको प्रभाव देशभरि नै फैलिने मौसमविद्ले बताएका छन् । महाशाखाले विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः

माघ १ गते (बुधबार)
दिउँसो : देशको पूर्वी तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : पश्चिमी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ २ गते (बिहीबार)
दिउँसो : देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली भई पूर्वी भूभागमा आंशिक बदली रहनेछ । मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाका साथै पश्चिमी तथा मध्य उच्च पहाडीरहिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

राति : देशको मध्य तथा पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रही पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै पूर्वी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। मध्य तथा पश्चिमी उच्च पहाडी र हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ ।

माघ ३ गते (शुक्रबार)
दिउँसो : देशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रहनेछ साथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडीरहिमाली भेगका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । मध्य तथा पूर्वी उच्च पहाडीरहिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ।

राति : देशभरी आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । देशका थोरै स्थानमा हल्का वर्षा साथै उच्च पहाडीरहिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।