कहिले पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


काठमाण्डु –  जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मुख्यतया मौसम सफा रहेको छ ।

त्यस्तै दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

त्यसैगरी आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement