काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभावका कारण देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको हो ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ ।
महाशाखाले दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
कोसी प्रदेशको थोरै स्थान र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।




प्रतिक्रिया