मायावतीले गरिन् आफ्नो पार्टीको उच्च पदमा भाइ र भतिजा नियुक्त


एजेन्सी – सन् १९९३ मा मुलायमसिंह यादव, त्यसपछि भाजपा र कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेकी बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीले आफ्ना भाइ आनन्द कुमार र भतिजा आकाशलाई पार्टीको उच्च पदमा नियुक्त गरेकी छन् । उनले भाइ आनन्दलाई पार्टीको राष्ट्रिय उपाध्यक्ष र भतिजा आकाशलाई राष्ट्रिय कोर्डिनेटर बनाएकी छन् ।

मायावतीले यसअघि नै उनीहरुलाई पार्टीमा ल्याउने तयारी गरे पनि लोकसभा निर्वाचन र त्यसको परिणामलाई पर्खिएकी थिइन् ।

निर्वाचनअघि नै यो कदम उठाएमा भाइ भतिजावादको आरोप लाग्ने डरले नियुक्ति रोकेकी थिइन् । तर, उनीहरु लामो समयदेखि पार्टीको काममा सक्रिय थिए । आनन्दकुमारले मायावतीको कार्यक्रममा प्रमुख भूमिका खेल्दै आएका थिए भने पार्टीका लागि आर्थिक संकलन पनि गर्दै आएका थिए ।

मायावतीले आकाशलाई आफ्नो चुनावी र्यालीमा स्थान दिएर मञ्चमा बोलाउने गरेकी थिइन् । उनले आकाशलाई आफ्नो राजनीतिक उत्तराधिकारी बनाउने अनुमान यसअघि नै गरिएको थियो । आफ्नो बढ्दो उमेरका कारण उनले आगामी दिनमा पार्टी हाँक्ने उत्तराधिकारी खोजिरहेकी थिइन् ।

पार्टीमा महत्त्वपूर्ण भूमिकामा उनले अन्यलाई विश्वास गर्दिनन् । एक समय उनले राजाराम गौतमलाई राष्ट्रिय उपाध्यक्ष बनाए पनि पछि हटाएकी थिइन् । अब उनले आफ्नो उत्तराधिकारीबारे उठिरहेको प्रश्नको जवाफ दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement