माओवादीमा प्रचण्डपछिको नेता को ? वर्षमान,शक्ति र जनार्दनबीच त्रिकोणिय प्रतिस्पर्धा

माओवादीमा प्रचण्डपछिको नेता को ? वर्षमान,शक्ति र जनार्दनबीच त्रिकोणिय प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का महासचिवका लागी तीन युवा नेताहरुको अहिलेदेखी नै अघोषित प्रतिस्पर्धा सुरु भएको छ । माओवादी केन्द्रको साउन ३१ मा सम्पन्न स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गर्ने निर्णय गरेसंगै स्थायी समितिका सदस्यहरु वर्षमान पुन, शक्ति वस्नेत र जनार्दन शर्माबीच पार्टीको नेतृत्वको लागी चर्को प्रतिस्पर्धा सुरु भएको हो ।

नेता पुन र शर्मा यसअघि दुवै जना लामो समय एउटै टिममा थिए । तर, अखिल क्रान्तिकारीको अध्यक्षको निर्वाचनको बेला दुवै नेताले अलग अलग उम्मेदवार खडा गरेपछि उनिहरुको कित्ताकाट सुरु भएको हो । अखिल क्रान्तिकारीको निर्वाचनमा शर्माका भाई अनिल शर्मा अध्यक्षमा पराजित भएका थिए भने पुन र अर्का स्थायी समिति सदस्य शक्ति वस्नेतका साझा उम्मेदवार रन्जित तामाङ अध्यक्षमा निर्वाचित भएका थिए । त्यो बेलादेखी दुई नेताको बीचमा दुरी बढ्न सुरु भएको हो । अहिलेसम्म पनि दुवैको कटुतापूर्ण सम्बन्ध कायमै छ ।

माओवादी केन्द्रको हेटौडामा सम्पन्न महाधिवेशनमा शर्मा र पुन एकातिर थिए भने अर्का नेता कृष्णबहादुर महरा र शक्ति बस्नेत अर्कोतिर थिए । हाल सभामुख रहेका अग्नी सापकोटाको समेत महरालाई साथ थियो ।

महाधिवेशनमा नेता पुन महासचिवका आकांक्षी भएपनि अन्तिममा महराले महासचिवमा बाजी मारेका थिए । तर, त्यो बेला निर्वाचन भएको भए पुनले नै निर्वाचन जित्ने सम्भावना बलियाे भएको माओवादी नेताहरु बताउंछन् । हेटौडा महाधिवेशनमा पुन माओवादीको सचिवमा निर्वाचित भएका थिए । पछि नेकपाको गठनसंगै नेता शर्मा पार्टीमा हावी भएका थिए । उनलै नै माओवादी केन्द्र र एमालेको एकतामा भुमिका खेलेको चर्चा थियो । त्यो बेला पुन र वस्नेत भने किनारा लगाइएका थिए ।

तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा बस्नेत र पुन क्रमसः वन र उर्जामन्त्री बनेका थिए भने सभामुखमा महरा नियुक्त भएका थिए । उनिहरुको एकताले नै शर्मालाई उपमहासचिव बन्न र मन्त्री हुनबाट रोक्ने काम भयो ।

त्यो बेला वस्नेत,पुन र महराको एउटा समुह थियो भने शर्माको रामबहादुर थापा, पम्फा भुषाल र देव गुरुङसंग निकटता थियो । शर्माले नै पुनलाई कुनै पनि हालतमा गृहमन्त्री बनाउन नहुने भन्दै लविङ गरेपछि गृहमन्त्रालय बादलको पोल्टामा पुगेको थियो । नभए पुन गृहमन्त्रीको दौडमा थिए ।

नेकपाको विभाजनसंगै अहिले माओवादीमा प्रचण्डपछिको नेता को हुने भन्ने प्रतिस्पर्धा फेरी सुरु भएको छ । त्यसमा वरियताका आधारमा नारायणकाजी श्रेष्ठ देखिएपनि उनको पार्टीभित्र संगठन र जनाधार कमजोर छ । त्यसैले माओवादीमा नेतृत्वको दावेदारमा मुख्यगरी कृष्णबहादुर महरा,वर्षमान पुन,जनार्दन शर्मा र शक्ति वस्नेतलाई हेरिएको छ ।

महरा यसअघि विभिन्न विवादमा मुछिएकाले उनको माओवादीमा मुख्य भुमिकामा तत्काल नै आउंने सम्भावना कम छ । त्यो अवस्थामा अहिले पुन, वस्नेत र शर्माबीच नै त्रिकोणिय प्रतिस्पर्धा छ । माओवादीको स्थायी समिति बैठकले गरेको कार्यविभाजनमा शर्मा र पुनलाई विशेष जिम्मेवारी मिलेको छ ।

त्यसका साथै बस्नेत पनि कर्णाली प्रदेश इन्चार्जका साथै वन तथा वातावरण विभागको प्रमुख र महरालाई पार्टी प्रवक्ताको जिम्मेवारीमा ल्याइएको छ । पुन,शर्मा र वस्नेतबीच महासचिवमा भिडन्त भएको अवस्थामा त्यसको फाइदा महरालाई हुने सम्भावना पनि छ ।

माओवादीमा वस्नेतको देशभर संगठन नभएपनि वैचारिक,राजनीतिक स्तर भने सबैभन्दा माथी भएको माओवादी नेताहरु बताउंछन । उनि कर्णाली प्रदेशमा भने माओवादीभित्र बलियो छन । त्यसका साथै लुम्बिनी प्रदेशमा पनि उनको संगठन राम्रो छ । पुन र शर्मा दुवैको संगठनमा पकड भएपनि पछिल्लो समय शर्माले उनलाई क्रस गरेका छन् ।

माओवादी अध्यक्ष दाहालले शर्मा, बस्नेत र पुनलाई सत्तामा समेत लगभग समान जिम्मेवारी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी फाइदा लिनेमा भने महरा अग्रपंक्तिमा आउंछन् । शर्मा हाल अर्थमन्त्री छन् । योभन्दा पहिले उनले गृह, उर्जा र शान्ति मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन । त्यसैगरी बस्नेत र महरा समेत गृहमन्त्री भइसकेका छन् भने पुनले उर्जा र अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

शर्मा हाल देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री हुंदा हुंदै पनि उनलाई संगठन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । त्यसले माओवादीभित्र तरंग पैदा गरेको छ । नेकपा हुंदा संगठन विभागको प्रमुख वामदेव गौतम थिए भने शर्मा उपप्रमुख थिए । यसपटक शर्मालाई उक्त विभागमा रोक्न पुन र महरालगायतका नेता लागे पनि अन्तिममा शर्माले नै उक्त विभागको जिम्मेवारी पाएका छन् ।

कम्युनिष्ट पार्टीमा महासचिवलाई संगठन विभाग दिने प्रचलन छ । शर्मा त्यतिमात्र होईन आफु निकट नेताहरुलाई देशभरिमा महत्वपूर्ण जिम्मेवारीमा ल्याउन सफल बनेका छन् । प्रचण्डले उनकै सल्लाहमा प्रदेश र जिल्लाहरुको नेतृत्व टुंगाएको स्रोतको दावी छ । शर्माले संगठनमा गरेको पहललाई कतिपयले उनको भावी महासचिवको तयारीका रुपमा समेत बुझेका छन् ।

यता पुनलाई पनि केन्द्रीय कार्यालय इन्चार्ज र अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । माओवादीको नयां विधानमा केन्द्रीय कार्यालयलाई शक्तिशाली बनाइएको छ । कतिपयले वर्षमानलाई प्रचण्डले महासचिव बनाउन खोजेको भनेपनि उनको भुमिका कार्यविभाजनमा कमजोर बनेको चर्चा माओवादीभित्र छ । तर, माओवादीको विधानमा केन्द्रीय कार्यालयको भुमिका भने बढाइएको छ ।

केन्द्रीय कार्यालयको संचालन गर्नेदेखी, केन्द्रीय स्तरका कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने र केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिको बैठकका लागि कार्यसूची सम्बन्धी प्रस्ताव तयार गर्ने र केन्द्रीय समिति,पोलिट्ब्युरो र स्थायी समितिका निर्णयहरुलाई अन्तरपार्टी निर्देशन जारी गर्ने लगायतको अधिकार केन्द्रीय कार्यालयलाई छ । त्यसका साथै सत्तारुढ दलहरुको बीचमा हुने महत्वपूर्ण वार्तामा समेत उनलाई प्रचण्डले भुमिका दिएका छन् ।

माओवादीले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ । त्यसका लागी नेताहरु अहिले संगठन निर्माणमा जुटेका छन् । माओवादीमा अव आउने नेतृत्व पश्चिम नेपालबाटै हुने भने निश्चित भएको छ । तर, माओवादीमा यस्तो एउटा पंक्ति छ जसको समर्थन विना युवा नेतृत्वलाई मुल नेतृत्वमा आउन त्यति सजिलो भने हुने छैन ।

शर्मा, पुन र बस्नेत माओवादी आन्दोलनबाट खारिएर आएका नेता हुन । माओवादीमा संधै संस्थापन पक्षमा लागेका उनिहरु आफ्नै क्षमता र संघर्षले यो स्तरमा पुगेका नेताहरु समेत हुन । तर, माओवादीभित्र उनिहरुभन्दा सिनियर पुस्ता पनि छ । जसले नेता स्वीकार नगर्दासम्म तिनै जनालाई मुल नेतृत्वमा आउंन मुस्किल मात्र छैन उनिहरुलाई क्रस गरेर नेता बनाउन समेत प्रचण्डले नसक्ने अवस्था छ । यद्यपी पार्टी कमिटीमा उनिहरु सिनियर भइसकेका छन् ।

माओवादीमा नारायणकाजी श्रेष्ठ, हरिवोल गजुरेल, कृष्णबहादुर महरा, देव गुरुङ, अग्नी सापकोटा, मातृका यादव, राम कार्की, पम्फा भुसाल,गिरिराजमणी पोखरेल र हितराज पाण्डेलगायतका नेताहरु छन् । जसले नेता नमान्दासम्म पार्टीको प्रमुख तहमा युवा नेताहरु आउन मुस्किल छ । यद्यपी यो पुस्ताले सबैभन्दा बढी रुचाउने नेता बस्नेत पर्छन भने त्यसपछि शर्माको राम्रो सम्बन्ध छ । उनिहरु दुवै जना कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट तिनै नेताहरुबीच त्यति सुमधुर सम्बन्ध भने देखिंदैन । उनिहरुलाई अध्यक्ष प्रचण्डले नै मिल्न नदिएको आरोप माओवादीभित्र छ ।