काठमाण्डु– माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अर्को हप्तादेखी काठमाण्डुमा आयोजना हुंदैछ । माओवादीले पुस ११-१३ मा राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ ।
चिनियां कम्युनिष्ट पार्टीका नेता माओको १ सय २८ औं जन्मदिवसकै दिन आयोजना हुन लागेको माओवादीको राष्ट्रिय सम्मेलनले पार्टीको आगामी कार्यदिशा तय गर्नुका साथै नयां नेतृत्व समेत चयन गर्नेछ । यद्यपी नयां नेतृत्वमा सहमति नभए निर्वाचनमा जाने वा नजाने अहिलेसम्म माओवादीले निर्णय गरेको छैन ।
तर, माओवादीले वाग्मती प्रदेशमा सहमति नभएपछि प्रदेश समिति सदस्यहरुबाट भोटिङ गराएर नै नेतृत्व चयनको सुरुवात गरिसकेको छ । अरु पार्टीहरुले संगठित सदस्यहरुबाट निर्वाचन गरेपनि माओवादीले नेतृत्व चयनको नयां अभ्यास सुरु गरेको हो । पदाधिकारीमा सहमति नभए माओवादीले स्थायि समिति मात्रै बनाएर समेत अगाडी बढ्ने सम्भावना समेत रहेको एक नेताले बताए ।
माओवादीमा केन्द्रीय अध्यक्षको लागी भने प्रचण्ड बाहेक अरुको दावेदारी हुने छैन । किनभने अध्यक्ष प्रचण्डलाई चुनौति दिने नेता माओवादीमा अहिलेसम्म देखिएको छैन । उनलाई चुनौति दिन सक्ने नेताहरु मोहन वैद्य, बावुराम भट्टराई, रामबहादुर थापा बादल र नेत्रविक्रम चन्द अहिले पार्टी छोडेर अन्यत्र गइसकेका छन् ।
माओवादीभित्र उनिपछि वरियतामा रहेका नारायणकाजी श्रेष्ठ दिएको खाने हैसियतमा मात्रै छन् । श्रेष्ठको उपाध्यक्षभन्दा बढी दाबेदारी हुने सम्भावना छैन । किनकी श्रेष्ठ माओवादीभित्रको संगठनमा कमजोर छन् ।
माओवादीको सम्मेलन नजिकिदैं आउंदा नेताहरुको दौडधुप समेत बढेको छ । माओवादी केन्द्रले केन्द्रीय समिति २ सय ९९ जनाको व्यवस्था गरेको छ । तर, आकांक्षीहरु माओवादीमा धेरै भएकाले निर्वाचनको सम्भावना पनि बढ्दै गएको छ । माओवादी अध्यक्ष प्रचण्ड अन्तिममा निर्वाचन गराउने पक्षमा समेत रहेको स्रोत बताउंछ ।
केन्द्रीय समिति मात्र होईन पदाधिकारी,स्थायी समिति र पोलिटब्युरो सदस्य हुन समेत नेताहरुको चर्को दौडधुप छ । यद्यपी माओवादी फेरी महासचिवको संरचनामा समेत जाने सम्भावना छ । त्यसो गर्दा पनि पदाधिकारी राख्न सक्ने सम्भावना बढी छ ।
माओवादीले २०७८ साउनमा पारित गरेको अन्तरिम विधानमा अध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको व्यवस्था गरेको भएपनि संख्याको भने टुंगो लागेको छैन ।
महासचिवमा कृष्णबहादुर महरा, गिरिराजमणी पोखरेल, देव गुरुङ, वर्षमान पुन,शक्ति बस्नेत,पम्फा भुषाल र जनार्दन शर्माको दावी छ । अहिले महासचिव हुने नेता भविष्यको मुख्य नेतृत्वको दावेदार हुने भएकाले पनि यसपटक महासचिवको लडाई माओवादीमा पेचिलो हुने देखिन्छ ।
नेपाली कांग्रेस र एमालेमा महासचिवमा युवा नेताहरुको आगमनसंगै माओवादीमा पनि महासचिव युवा पुस्ताबाट ल्याउनुपर्ने दबाव नेतृत्वलाई छ । कांग्रेसमा निर्वाचनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा र एमालेमा महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका थिए ।
माओवादीमा मुख्यगरी तीन नेताहरुबीच महासचिवमा प्रतिस्पर्धा हुने सम्भावना छ । माओवादीको स्थायी समितिका सदस्यहरु वर्षमान पुन, शक्ति वस्नेत र जनार्दन शर्माबीच महासचिवको लागी प्रतिस्पर्धा हुनेछ । तर, तिनै नेताहरुबीच सहमति नभएको अवस्थामा महासचिवा नेता कृष्णबहादुर महरा र पम्फा भुषालमध्ये एक जना बन्ने सम्भावना पनि उत्तिकै छ । यद्यपी महराले अहिलेसम्म औपचारिक रुपमा अध्यक्ष प्रचण्डसंग आफ्नो इच्छा भने राखिनसकेको स्रोतको दावी छ ।
महासचिवका दावेदार रहेका बस्नेत कर्णाली इन्चार्ज, पुन केन्द्रीय कार्यालयको इन्चार्ज र शर्मा संगठन विभाग प्रमुखका साथै अर्थमन्त्री समेत छन् । तिनै जनाको माओवादीमा आ आफनै विशेषता रहेको बताइन्छ । तिमध्ये वस्नेतको वैचारिक,राजनीतिक क्षमता अरुभन्दा अब्बल रहेको पुनसंग व्यवस्थापकिय क्षमता भएको र शर्मा एक्सन ओरेन्टेड नेता भएको माओवादीकै कार्यकर्ताहरु बताउंछन् ।
यसअघि माओवादी केन्द्रको हेटौडामा सम्पन्न महाधिवेशनमा शर्मा र पुन एकातिर थिए भने अर्का नेता कृष्णबहादुर महरा र शक्ति बस्नेत अर्कोतिर थिए । हाल सभामुख रहेका अग्नी सापकोटाको समेत महरालाई साथ थियो ।
महाधिवेशनमा नेता पुन महासचिवका आकांक्षी भएपनि अन्तिममा महराले महासचिवमा बाजी मारेका थिए । तर, त्यो बेला निर्वाचन भएको भए पुनले नै निर्वाचन जित्ने सम्भावना बलियो भएको माओवादी नेताहरु बताउंछन् ।
हेटौडा महाधिवेशनमा पुन माओवादीको सचिवमा निर्वाचित भएका थिए । पछि नेकपाको गठनसंगै नेता शर्मा पार्टीमा हावी भएका थिए । उनलै नै माओवादी केन्द्र र एमालेको एकतामा भुमिका खेलेको चर्चा थियो । त्यो बेला पुन र वस्नेत भने किनारा लगाइएका थिए ।
तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा बस्नेत र पुन क्रमसः वन र उर्जामन्त्री बनेका थिए भने सभामुखमा महरा नियुक्त भएका थिए । उनिहरुको एकताले नै शर्मालाई उपमहासचिव बन्न र मन्त्री हुनबाट रोक्ने काम भएको जानकारहरु बताउंछन् ।
त्यो बेला वस्नेत,पुन र महराको एउटा समुह थियो भने शर्माको रामबहादुर थापा, पम्फा भुषाल र देव गुरुङसंग निकटता थियो । शर्माले नै पुनलाई कुनै पनि हालतमा गृहमन्त्री बनाउन नहुने भन्दै लविङ गरेपछि गृहमन्त्रालय बादलको पोल्टामा पुगेको थियो । नभए पुन गृहमन्त्रीको दौडमा थिए । तर,पछिल्लो समय शर्मा,महरा र भुषालको टिम बनेको चर्चा छ ।
महराले आफु छोड्ने अवस्थामा पहिलो नम्बरमा बस्नेतलाई रोज्ने सम्भावना बलियो छ । उनको नाममा सहमति नभएको अवस्थामा शर्मा नै महासचिव बन्ने सम्भावना छ । तर, पुनको नाममा भने महरा सहमत हुने सम्भावना देखिंदैन ।
नेकपाको विभाजनसंगै अहिले माओवादीमा प्रचण्डपछिको नेता को हुने भन्ने प्रतिस्पर्धा पनि छ । त्यसमा वरियताका आधारमा नारायणकाजी श्रेष्ठ देखिएपनि उनको पार्टीभित्र संगठन र जनाधार कमजोर छ । त्यसैले माओवादीमा नेतृत्वको दावेदारमा मुख्यगरी कृष्णबहादुर महरा,गिरिराजमणी पोखरेल, पम्फा भुषाल, वर्षमान पुन, शक्ति वस्नेत र जनार्दन शर्मालाई हेरिएको छ ।
महरा यसअघि विभिन्न विवादमा मुछिएकाले उनको माओवादीमा मुख्य भुमिकामा तत्काल नै आउंने सम्भावना कम छ । यद्यपी पछिल्लो समय महराले लय भने पकडिसकेका छन् ।
त्यो अवस्थामा अहिले पुन, वस्नेत र शर्माबीच नै त्रिकोणिय प्रतिस्पर्धा छ । पोखरेल एकता प्रक्रियाबाट आएकाले माओवादीको मुख्य लिगेशी उनितिर जाने सम्भावना देखिदैन । पुन,शर्मा र वस्नेतबीच महासचिवमा भिडन्त भएको अवस्थामा त्यसको फाइदा महरालाई हुने सम्भावना पनि छ ।
महराको नाममा सहमति नभए महिलालाई मुख्य भुमिका दिने अवस्था आउंदा भुषालको सम्भावना बलियो छ । माओवादीले कर्णाली र गण्डकी प्रदेशको अध्यक्ष समेत महिलालाई दिएको अवस्थामा केन्द्रमा समेत त्यो नहोला भन्न सकिंदैन । किनभने भुषाल पार्टीमा क्रियाशिलताको हिसावले पुरानोमध्येकै नेतृ हुन ।
माओवादी अध्यक्ष दाहालले शर्मा, बस्नेत र पुनलाई सत्तामा समेत लगभग समान जिम्मेवारी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी फाइदा लिनेमा भने महरा अग्रपंक्तिमा आउंछन् । शर्मा हाल अर्थमन्त्री छन् । योभन्दा पहिले उनले गृह, उर्जा र शान्ति मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन । त्यसैगरी बस्नेत र महरा समेत गृहमन्त्री भइसकेका छन् भने पुनले उर्जा र अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
शर्मा हाल देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री हुंदा हुंदै पनि उनलाई संगठन विभागको प्रमुखको जिम्मेवारी दिइएको थियो । त्यसले माओवादीभित्र तरंग पैदा गरेको थियो । नेकपा हुंदा संगठन विभागको प्रमुख वामदेव गौतम थिए भने शर्मा उपप्रमुख थिए । यसपटक शर्मालाई उक्त विभागमा रोक्न पुन लागे पनि अन्तिममा शर्माले नै उक्त विभागको जिम्मेवारी पाएका थिए ।
माओवादीमा अव आउने नेतृत्व पश्चिम नेपालबाटै हुने भने निश्चित भएको छ । तर, माओवादीमा यस्तो एउटा पंक्ति छ जसको समर्थन विना युवा नेतृत्वलाई मुल नेतृत्वमा आउन त्यति सजिलो भने हुने छैन ।
शर्मा, पुन र बस्नेत माओवादी आन्दोलनबाट खारिएर आएका नेता हुन । माओवादीमा संधै संस्थापन पक्षमा लागेका उनिहरु आफ्नै क्षमता र संघर्षले यो स्तरमा पुगेका नेताहरु समेत हुन । तर, माओवादीभित्र उनिहरुभन्दा सिनियर पुस्ता पनि छ । जसले नेता स्वीकार नगर्दासम्म तिनै जनालाई मुल नेतृत्वमा आउंन मुस्किल मात्र छैन उनिहरुलाई क्रस गरेर नेता बनाउन समेत प्रचण्डले नसक्ने अवस्था छ । यद्यपी पार्टी कमिटीमा उनिहरु सिनियर भइसकेका छन् ।
माओवादीमा नारायणकाजी श्रेष्ठ, हरिवोल गजुरेल, कृष्णबहादुर महरा, देव गुरुङ, अग्नी सापकोटा, मातृका यादव, हितमान शाक्य, राम कार्की, पम्फा भुसाल,गिरिराजमणी पोखरेल र हितराज पाण्डेलगायतका नेताहरु छन् । जसले नेता नमान्दासम्म पार्टीको प्रमुख तहमा युवा नेताहरु आउन अफ्ठेरो छ ।
यद्यपी यो पुस्ताले सबैभन्दा बढी रुचाउने नेता बस्नेत पर्छन भने त्यसपछि शर्माको राम्रो सम्बन्ध छ । उनिहरु दुवै जना कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छन । शर्मा र बस्नेतबीच पछिल्लो समय सम्बन्ध सुमधुर बनेको चर्चा समेत माओवादीभित्र छ । त्यसो हुंदा दुवै जना एक ठाउंमा आएको अवस्थामा उनिहरुमध्येबाटै एक जना महासचिव हुने सम्भावना बलियो छ ।
महासचिवको दावेदार रहेका नेता पुनको स्वास्थ्य अवस्था खराव छ । उनि हाल चीनमा उपचाररत छन् । पुन पार्टीको सम्मेलनलाई मध्यनजर गरेर नेपाल फर्कने तयारीमा रहेको निकट स्रोतले जनाएको छ । पार्टीमा वरियताका हिसावले पुन र बस्नेत शर्माभन्दा माथी छन् । तर, तिनै जनाले एक अर्कालाई नेताका रुपमा भने स्विकार गरेका छैनन । किनभने उनिहरु माओवादी आन्दोलनमा संगसंगै लागेका नेताहरु हुन । शर्मा उमेर र राजनीतिक हिसावले सिनियर भएपनि पार्टी कमिटीमा भने पुन र बस्नेतभन्दा जुनियर हुन ।
माओवादीभित्र नेताहरुको समिकरण जे जस्तो भएपनि अन्तिममा अध्यक्ष प्रचण्डले चाहेको नेता नै महासचिव हुने सम्भावना छ । अहिले महासचिवका प्रतिस्पर्धी रहेका तिनै नेतासंग प्रचण्डको समदुरीको सम्बन्ध रहेको छ । त्यो अवस्थामा उनले अन्तिममा कसलाई बोक्छन त्यही नेता नै माओवादीको महासचिव बन्ने र भावी नेतृत्वको मुख्य दाबेदार हुनेछ ।




प्रतिक्रिया