माओवादी महासचिवमा जनार्दन र वर्षमानको लडाइँले ‘गुट भत्काउन’ प्रचण्डको रोजाइमा तेस्रो नेता

माओवादी महासचिवमा जनार्दन र वर्षमानको लडाइँले ‘गुट भत्काउन’ प्रचण्डको रोजाइमा तेस्रो नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः निर्वाचित हुने देखिँदैछ तर सर्वाधिक चासो महासचिव पदमा देखिएको छ ।

माओवादी महासचिव पदमा चर्चामा जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’ रहेका छन् । यी दुवैबीच लडाइँ हुँदा प्रचण्डले महिलाबाट पम्फा भुसाललाई महासचिव बनाउन सक्ने चर्चा पनि छ । तर प्रचण्डले यीबाहेक अर्कैलाई महासचिव बनाउने सम्भावनाबारे शीर्ष नेतृत्वहरू छलफलमा जुटेका छन् ।

माओवादीमा माथिल्लो तहका नेताहरू हरिबोल गजुरेल, राम कार्की, हितराज पाण्डे, चक्रपाणी खनाल, सभामुख अग्नि सापकोटा,देवेन्द्र पौडेल, मात्रिका यादव तथा युवा नेताहरू बिन्दमान विष्ट, विशाल खड्का, माधव सापकोटा, हेमराज भण्डारी, राजेन्द्र बस्नेतलगायतका नेताले जनार्दन र वर्षमान दुवैमध्ये कसैलाई पनि महासचिव बनाउन नहुने सुझाव राखेको स्रोत बताउंछ । दुवैले पार्टीमा गुटगत अभ्यास गरेको र यसले पार्टीमा विवादको जरो गाड्ने भएकाले दुवैलाई मुख्य पदमा ल्याउन नहुने आवाज माओवादीभित्र उठेको छ ।

‘माओवादीमा जनार्दन र वर्षमानका समानान्तर गुट छन्, एकले अर्कालाई स्वीकार्ने अवस्था छैन । गुटलाई तलैसम्म लिएर गएका छन्, यसले पार्टीलाई घाटा गर्छ । तसर्थ उहाँ दुवैलाई महासचिव बनाउनुहुँदैन भन्ने मत बलियो छ । पार्टीमा चलिरहेको गुट भत्काउन प्रचण्डले बोल्ड निर्णय लिनुहुन्छ भन्नेमा हामी ढुक्क छौं,’ नाम नखुलाउने शर्तमा एक नेताले भने ।

नेत्री पम्फा भुसाल एकपल्ट पार्टी विभाजन गरेर मोहन वैद्यसँग गइसकेकाले उनलाई कार्यकारी पद दिने मनस्थितिमा अध्यक्ष प्रचण्ड नरहेको स्रोतले जनाएको छ । गुटगत कारणले वर्षमान र जनार्दन तथा पार्टी विभाजन गरेका कारणले पम्फा महासचिव बन्ने सम्भावना कम रहेको माओवादी नेताहरू बताउँछन् ।

अध्यक्ष प्रचण्डले मुख नखोलेको र बढी चर्चामा रहेका नेताहरूलाई महासचिवको जिम्मेवारी मिल्ने सम्भावना नरहेका बेला माओवादीको बढी प्रभाव क्षेत्र रहेको कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेतको नामलाई नेताहरूले अगाडि बढाएका छन् । गुटगत अभ्यास नगर्ने, वैचारिक र सांगठनिक स्पष्टता, प्रचण्डसँग निकटता रहेका कारण अन्तिममा नेता बस्नेतले पार्टी महासचिव बन्ने सम्भावना रहेको माओवादी उच्च स्रोतले जनाएको छ । उनलाई महासचिवमा दावी पेश गर्न पनि नेताहरुले सुझाव दिएको बताइन्छ ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएसँगै केन्द्रीय समिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ । अहिले नेताहरुबीच केन्द्रीय समितिमा निकट नेताहरु ल्याउने प्रतिस्पर्धा सुरु भएको छ ।

नेता बस्नेत यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव, सरकारमा गृहमन्त्री समेत भइसकेका छन् । बस्नेतले पार्टीमा गुटगत अभ्यास नगरेको र प्रचण्डलाई सधै साथ दिने नेता भएकाले पनि उनको सम्भावना बढेको बताइन्छ ।

गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समेत कर्णाली प्रदेश इन्चार्ज रहेका बस्नेतले माओवादीका लागि देशभरमै सबैभन्दा राम्रो नतिजा निकालेका थिए । यसैकारण पार्टीमा कार्यविभाजन हुँदा पूर्वमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले स्थायी कमिटी बैठकमा बस्नेतलाई संगठन विभाग प्रमुख बनाउनुपर्ने प्रस्ताव नै गरेका थिए । माओवादी पार्टीमा लामो समय योगदान गरेका नेताहरू गुटगत अभ्यास भत्काउन बस्नेतलाई महासचिव बनाउनुपर्ने तर्क गरिरहेका स्रोतले जनाएको छ ।

महासचिवमा टक्कर गरिरहेका जनार्दन र वर्षमान नै समेत एकअर्काले हुनुभन्दा अन्तिममा बरु तेस्रो विकल्पमा समर्थन गर्नसक्ने सम्भावना समेत रहेको नेताहरूले जनाएका छन् ।

यो पनि पढ्नुहोस-

माओवादीमा प्रचण्डपछिको नेता को ? वर्षमान,शक्ति र जनार्दनबीच त्रिकोणिय प्रतिस्पर्धा