माओवादीमा महासचिवमा शक्ति बस्नेतको नाममा सहमति,आजै पदाधिकारीसहित केन्द्रीय सदस्य घोषणा हुने

माओवादीमा महासचिवमा शक्ति बस्नेतको नाममा सहमति,आजै पदाधिकारीसहित केन्द्रीय सदस्य घोषणा हुने


काठमाण्डु– नेकपा माओवादी केन्द्रले आज पार्टी पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम हलबाटै घोषणा गर्ने भएको छ । माओवादी केन्द्रको जारी महाधिवेशनमा शनिवार बन्दसत्र स्थगित गरेर निर्वाचन कार्यतालिका संशोधन भएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आज पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने तयारी गरेका छन् । त्यसका लागी उनले पार्टीभित्रका प्रभावशाली नेताहरुसंगको छलफललाई जारी राखेका छन् । उनले आज १ बजे नेतृत्वको घोषणा गर्दैछन् ।

माओवादीमा अध्यक्षमा दाहाल नै दोहोरिने निश्चित भएको छ । वरिष्ठ उपाध्याक्षमा नारायणकाजी श्रेष्ठ,उपाध्यक्षहरु कृष्णबहादुर महरा,देव गुरुङ,पम्फा भुषाल,वर्षमान पुन,हरिबोल गजुरेल र मातृका यादव, महासचिवमा शक्ति वस्नेत, उपमहासचिवमा गिरिाजमणी पोखरेल र जनार्दन शर्मा र सचिवमा देवेन्द्र पौडेल, चक्रपाणी खनाल र राम कार्कीको नाम प्रस्ताव हुने तयारी छ । कोषाध्यमा देवेन्द्र पौडेलको सम्भावना बलियो छ ।

माओवादीमा मुख्यगरी महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको लडाई थियो । अन्तिममा नेता बस्नेतले पनि महासचिवमा दावी गरेका थिए । पुन र शर्माको गुटबन्दी चर्को भएको भन्दै पार्टीलाई मजबुत बनाउन तेस्रो विकल्पमा जान अध्यक्ष दाहाललाई नेताहरुले सुझाव दिएका थिए ।

माओवादी नेताहरु कृष्णबहादुर महरा, हरिबोल गजुरेल, सभामुख अग्नी सापकोटा, राम कार्की,चक्रपाणी खनाल,हितराज पाण्डे,देवेन्द्र पौडेललगायतले बस्नेतलाई महासचिव बनाउन अध्यक्ष दाहाललाई सुझाव दिएको स्रोत बताउंछ । महासचिवको प्रतिस्पर्धामा रहेका नेता पुनले समेत बस्नेतलाई समर्थन गर्ने बताए पनि शर्मालाई भने मनाउने प्रयास जारी छ ।

माओवादीमा केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन् । आज ११ बजे बस्ने स्थायी समिति बैठकले पदाधिकारीमा सहमति गरेर खुलातर्फ १४५ र समानुपातिकातर्फ सबै क्लस्टर मिलाएर १५४ जनाको नाम टुंगो लगाएर हलमा केन्द्रीय समिति र पदाधिकारी घोषणा हुनेछ ।

यो पनि पढ्नुहोस-

माओवादी महासचिवमा जनार्दन र वर्षमानको लडाइँले ‘गुट भत्काउन’ प्रचण्डको रोजाइमा तेस्रो नेता