काठमाण्डु- माओवादी केन्द्रले सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको प्रदेश,जिल्ला र विभागहरुको नेतृत्व टुंगो लगाएको हो । माओवादीले सातै प्रदेशका प्रमुखहरुको जिम्मेवारी टुंगो लगाएपनि केही प्रदेशका सहइन्चार्ज र सचिवहरुको भने टुंगो लगाउन भने असफल भएको हो ।
माओवादीले प्रदेश १ मा राम कार्की ’पार्थ’ लाई इन्चार्जको जिम्मेवारी दिएको छ । १ नम्बर प्रदेशमा सावित्रीकुमार आफ्ले , पदम राई, धर्मशीला चापागाई र अजम्बर काङमाङ प्रदेश सह–इन्चार्ज तोकिएका छन्। प्रदेश अध्यक्षको जिम्मेवारी सुरेशकुमार राईले पाएका छन्। प्रदेश सचिव भने खाली नै राखिएको छ ।
प्रदेश २ इन्चार्जमा गणेश साह तोकिएका छन्। त्यहांको सह–इन्चार्जको जिम्मेवारी विश्वनाथ साह र महेन्द्र पासवालाई दिइएको छ । तर, प्रदेश अध्यक्ष र सचिव भने चयन गरिएको छैन।
बागमती प्रदेश इन्चार्जमा हितमान तामाङ चयन भएका छन् । सह–इन्चार्जमा हितबहादुर तामाङ शशी श्रेष्ठ र सूर्य सुवेदी तोकिएका छन्। यो प्रदेशको अध्यक्षमा नारायण दाहाल तोकिंदा सचिव पद खाली राखिएको छ।
गण्डकी इन्चार्जमा हितराज पाण्डेले जिम्मेवारी पाएका छन् । सह–इन्चार्जमा यसोदा सुवेदी गुरुङ तथा प्रदेश अध्यक्षमा हरि अधिकारी तोकिएका छन्।
लुम्बिनी प्रदेश इन्चार्जमा चक्रपाणि खनाल चयन भएका छन् । सहइन्चार्जमा कुलप्रसाद केसी र हरिकुल्ला खानलाई जिम्मेवारी दिइएको छ । यो प्रदेशको अध्यक्षमा ओनसरी घर्ती चयन हुंदा सचिवमा जगतप्रसाद शर्माले जिम्मेवारी पाएका छन् ।
कर्णालीमा शक्ति बस्नेत इन्चार्ज तोकिएका छन् । सह–इन्चार्जमा कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीलाई तोकिएको छ। यहांको अध्यक्षमा राजकुमार शर्मा र सचिवमा रामदीप आचार्यले जिम्मेवारी पाएका छन्।
सुदूरपश्चिम इन्चार्जमा खगराज भट्ट तोकिएका छन्। सह–इन्चार्जमा लक्ष्मीदत्त जोशी र तारामान स्वांरले जिम्मेवारी पाएका छन्। यो प्रदेशमा माओवादीले अध्यक्ष र सचिव छान्न सकेको छैन ।













प्रतिक्रिया