प्रदेश ३ को मन्त्री छनौटमा माओवादीभित्र चरम असन्तुष्टी


काठमाडौं – प्रदेश नं. ३ मा मन्त्रिपरिषदको विस्तार आज हुने भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सांझ ५ बजे मन्त्रीहरुको सपथग्रहणको कार्यक्रम तय भएको छ ।

माओवादीबाट मन्त्री चयन गर्ने क्रममा विवाद भएको छ । दलका नेता शालिकराम जमरकट्टेलले सिन्धुपाल्चोकका युवराज दुलालको नाम अघि सारेपछि अरु नेताहरु असन्तुष्ट भएका हुन् । लामो समय प्रचण्डको अंगरक्षकका रुपमा काम गरेका दुलाल अग्नि सापकोटा वनमन्त्री हुंदा स्वकीय सचिव थिए । दुलाल ठेका–पट्टामा लागेको भन्दै उनको पार्टीभित्र आलोचना हुने गरेको छ ।

माओवादीबाट दलको उपनेता रहेकी मकवानपुरकी कुमारी मोक्तान, राजकाजी महर्जन र देशैभर सबैभन्दा बढी मत ल्याएर जितेका विशाल खड्काको नाम मन्त्रीको लागि चर्चामा थियो । खड्का र मोक्तानलाई मन्त्री बनाउन माओवादीमा दबाव भएपनि जमरकट्टेलले मनोमानी गरेको नेता कार्यकर्ताको आरोप छ ।

माओवादीबाट जमरकट्टेल यसअघि नै दलको नेतासहित गृहमन्त्री भइसकेका छन् । माओवादीको भागमा दुई मन्त्रालय परेको थियो ।
मोक्तान बादल समुहसंगै माओवादीमा फर्किएकी हुन भने खड्का बावुराम भट्टराई निकट नेताका रुपमा चिनिन्थे । उनि शहिद परिवार समेत हुन ।

एमालेबाट पोलिटव्यूरो सदस्य अरुण नेपाल, रामेछापका कैलाश ढुंगेल र चितवनका दावा दोर्जे लामा छन् । नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढुंगेल अर्थ तथा योजना मन्त्री बन्ने भएका छन् ।एमालेका दावा दोर्जे लामाको भने मन्त्रालय तय भएको छैन । माओवादीमा समावेशी ढंगले मन्त्री चयन गर्न नेताहरुमाथी चर्को दबाव छ ।

फोटो :अनलाइनखबर

 

प्रतिक्रिया दिनुहोस
Advertisement