मन्त्रीको टुंगो लगाउन माओवादीले बोलायो स्थायी कमिटी बैठक,सरकारको नेतृत्वमा श्रेष्ठको दावी


काठमाण्डु– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा बैठक १ बजेका लागी बोलाइएको छ । बैठकमा सरकारमा क–कसलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने बताइएको छ । माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुषालले उर्जा मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने दौडमा छन्। तर अर्थमन्त्री समेत रहेका नेता शर्माले सरकारको नेतृत्व आफैले गर्ने चांहना व्यक्त गरेका छन् । माओवादीमा श्रेष्ठको भन्दा संगठनमा शर्माको बलियो पकड छ ।

यसअघि कृषिमन्त्री बनेका नेता हरिबोल गजुरेलले पनि सरकारको नेतृत्वमा दावी गरेका छन । उनि यसअघि २०६९ माघ २० देखि २६ सम्म भएको हेटौडा महाधिवेशनमा कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

माओवादीले ८ मन्त्रालय दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । तर, एमालेको माधव नेपाल समुह सरकारमा सहभागी हुने सम्भावना भएकाले माओवादीले ६ मन्त्रालय मात्र पाउने अवस्था छ ।

माओवादीभित्र मन्त्री बन्न धेरै आकांक्षीहरु छन । माओवादीमा सवैजस्तो स्थायी समिति सदस्यहरु मन्त्री बनेपनि अहिलेसम्म मन्त्री बन्न नपाएका देवेन्द्र पौडेल पनि यसपटक मन्त्री बन्ने दौडमा छन् ।

मन्त्री बन्न नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराम चौधरी, सुरेशकुमार राई,सुदन किराती, शिवकुमार मण्डल,मायाप्रसाद शर्मा र अमनलाल थारु लगायत दौडमा छन् । माओवादी केन्द्रमा वरियतामा दोस्रो नम्बरमा रहेका श्रेष्ठले सरकारको नेतृत्व गरेर जाने चांहना राखेपनि उनलाई थाहा नै नदिई अध्यक्ष दाहालले मन्त्री पठाएपछि उनि असन्छुष्ट छन् ।

श्रेष्ठ यसअघि उपप्रधानसहित गृह र परराष्ट्र मन्त्री समेत भइसकेका छन् । उनले आफु मन्त्री नहुंदा आफ्नो गुटबाट गिरीराजमणी पोखरेललाई मन्त्री बनाउंदै आएका थिए । यसपटक पनि भनेजस्तो मन्त्रालय नपाए श्रेष्ठले आफ्नो गुटबाट अन्जना विशंखेको नाम मन्त्रीमा सिफारीस गर्ने सम्भावना बढी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement