काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै आईतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग भने, ‘सबभन्दा धेरै मन नपराउनेहरूले नै मलाई समर्थन गरिरहेका छन् । संसद्मा जस्तोसुकै परिस्थितिको पनि सामना गर्छु भनेर यसअघि पनि भनिसकेकाले हटाउने हो भने समर्थन फिर्ता लिए भैगो नि !’
माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिने निर्णय गरिसकेपछि पनि मन्त्रीहरू फिर्ता भएका छैनन् । माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेका छैनन् । राजनीतिमा अनौठा परिदृश्य देखिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्यो । यसबीच नेकपाले झण्डै दुईतिहाइ बहुमतको सरकार बनायो ।
सरकारले नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरे, ओली अहिले पनि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको अध्यक्ष छन् । सर्वाेच्च अदालतले नेकपा एकता बदर गरेर पुरानो पार्टीहरू एमाले र माओवादीलाई ब्युताएको थियो ।
पार्टी एकतादेखि विभाजनसम्म सर्सर्ती हेर्दा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई घाटै–घाटा भएको देखिन्छ । बरु पार्टीभित्रकै नेताहरू र विपक्षी जतिसुकै सत्तोसराप गरेपनि प्रधानमन्त्री ओलीप्रति राजनीतिक वृत्तमा ‘क्रेज’ देखिएको छ ।
सर्वाेच्च अदालतले एमाले र माओवादी ब्युताउने फैसला गरेपछि एमाले नेताहरू सबै पेरिसडाँडाबाट बिदा भए । सर्वाेच्चको फैसला आउनुअघिसम्म माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका भेला, बैठक, छलफल पेरिसडाँडामै प्रचण्डसँग मिलेर हुने गरेका थिए । तर अदालतको फैसलापछि एमालेका सबै नेताहरूले पेरिसडाँडा छाडेका छन् ।
एमालेमा सबै फर्किएपनि माओवादीतिर धेरै फर्किएका छैनन् । नेकपा एकीकृत हुँदादेखि नै ओली पक्षमा लागेका अधिकांश नेताहरू सांसद र मन्त्री पदबाट हट्नुपर्ने थाहा हुँदाहुँदै पनि एमालेमै बसिरहेका छन् । एमालेभित्र पनि ओली पक्षमा लागेका छन् ।
सम्भावित जोखिमलाई बेवास्ता गर्दै एमालेमा लागेका माओवादी नेताहरूलाई अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टलाई त क्रमशः बागमती र सुदूरपश्चिम प्रदेश इन्चार्ज नै बनाएका छन् । यी मनोनयन माओवादीले निर्णय लिनुअघि नै भएका छन् ।
शुक्रबार बालुवाटारमा भएको एमाले केन्द्रीय कमिटीको बैठकले रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, प्रभू साह, टंक आङ्बुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलम्पाकी, कमल चौलागाईं, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, गिरधारी लाल, चन्द्रबहादुर खड्का, झपट बोहोरा, दावा लामा, गौरीशंकर चौधरी, धर्मराज रेग्मी, नवीन रोक्का, दिनेश पन्थी, ठम्मर विष्टलाई केन्द्रीय सदस्य मनोनित गर्यो । जसमध्ये ठम्मर विष्ट मात्रै माओवादी केन्द्रमा फर्किएका छन्, त्यो पनि स्पष्टीकरण सोध्ने र कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय भएपछि ।
विशाल कम्युनिस्ट पार्टीको कार्यकारी अध्यक्ष बन्ने सपनासहित एमालेसँग पार्टी एकीकरण गरेका प्रचण्डले माओवादीमै भएका नेताहरू समेत गुमाउनुपर्ने अवस्था आएको छ । एकीकरणपछि बनेको नेकपा अस्तित्वमा हुँदा समेत प्रचण्डले कुनै गतिलो काम देखाउन सकेनन्, विवादै–विवादमा नेकपा बिसर्जन भयो ।
एमाले अध्यक्ष ओलीले भने माओवादीसँग एकता भएपछि सुविधाजनक बहुमतसहित प्रधानमन्त्री बन्न पाए, काम गरेर देखाउने मौका पाए, थप काम गरेर देखाउने एजेन्डा जनतामा भन्न सक्ने माहोल बनाए । अझै पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेको छैन, सरकार बाहिरै हुँदा पनि सरकारलाई दिएको समर्थन कायमै राख्नुपर्ने डरलाग्दो अवस्थामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा सर्वाेच्च अदालतबाट बदर हुँदा प्रचण्ड र माधवकुमार नेपालले लड्डु नै बाँडेर खाए । तर त्यो खुसी धेरै टिकेन । अहिले प्रतिनिधि सभामा रहेका दलबीच नयाँ सरकार बनाउने गठजोड नै बनिरहेको छैन ।




प्रतिक्रिया