काठमाण्डु– माओवादी केन्द्रभित्र सुदुरपश्चिम प्रदेशको पार्टी पदाधिकारी चयनमा तिव्र बिवाद देखिएको छ । माओवादी केन्द्रमा अधिकांश प्रदेशको प्रदेश नेतृत्व चयन गरिएपनि सुदुरपश्चिमा भने पदाधिकारी चयनमा पार्टीभित्र चर्को मतभेद देखा परेको हो ।
माओवादीको स्थायी समितिको बैठकले सुदुरपश्चिमको प्रदेश इन्चार्जमा खगराज भट्टलाई जिम्मेवारी दिइसकेको छ । उनलाई स्थायी समितिको आमन्त्रित सदस्य बनाउने माओवादीको तयारी छ ।
इन्चार्जमा लक्ष्मी जोशीले दावी गरेपनि अन्तिममा भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको हो । हाल जोशी र तारामान स्वार दुई जनालाई प्रदेशको सहइन्चार्ज बनाइएको छ । तर, प्रदेशको अध्यक्ष र सचिवमा भने बिवाद हुंदा अहिलेसम्म कसैलाई पनि नियुक्ती गरिएको छैन ।
प्रदेश अध्यक्षको लागी विना मगर,नेपबहादुर चौधरी र नरेन्द्र कुंवरबीच प्रतिस्पर्धा देखिएको छ । सुदुरपश्चिममा माओवादी केन्द्रभित्र तिन वटा गुट देखिएका छन् । जसमध्ये एउटा समुहको नेतृत्व खगराजले गरिरहेका छन भने अर्को समुह विना मगरले नेतृत्व गरिरहेकी छन् ।
माओवादी स्रोतले दिएको जानकारीअनुसार प्रदेश अध्यक्ष चौधरीलाई बनाएर सचिवमा कुवंरलाई बनाउने तयारी पार्टी नेतृत्वले गरेको छ । त्यसका साथै सहइन्चार्ज पनि थप्ने माओवादीको तयारी छ । माओवादी विरमान चौधरी र नेतृ रेणु चन्दलाई प्रदेशको सहइन्चार्ज बनाउने तयारी रहेको स्रोतको दावी छ ।
सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भने प्रदेशमा कुनै पनि जिम्मेवारी दिइएको छैन । उनलाई डोटीको जिल्ला इन्चार्जमा सिमित गरिएको छ ।




प्रतिक्रिया