एमालेसंग सहकार्य गर्नेबारे माओवादीमा दुई धार


काठमाण्डु– नेकपा माओवादी (केन्द्र) भित्र बामपन्थी एकता गर्नेबारे दुई धार देखा परेको छ । माओवादी स्रोतले दिएको जानकारीअनुसार माओवादीभित्र अहिले एमाले र कांग्रेसमध्ये कोसंग सहकार्य गर्ने भन्ने बारेमा नेताहरुबीच विवाद छ ।

माओवादीले कांग्रेस र एमालेभन्दा जसपा र समाजवादीसंग चुनावी मोर्चा बनाउनेबारे छलफल चलाइरहेको छ । तर, छलफलले मूर्त रुप भने अहिलेसम्म पाएको छैन् । किनभने माओवादीसंगको मोर्चाबारे अहिले समाजवादी र जसपाभित्र समेत दुई लाइन छ । माओवादीले प्रस्ताव गरेको सिट संख्यामा जसपा र समाजवादीका नेताहरु सहमत भएका छैनन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निर्वाचनको परिणाम आफ्नो पार्टीले सोचेजस्तो आएको भन्दै गठबन्धन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै कायम रहने बताउंदै आएका छन् । तर, दाहालले भित्र भित्रै कांग्रेस र एमाले दुवैसंग आगामी निर्वाचनमा सहकार्यका लागि छलफल चलाइरहेका छन् ।

यसअघि माओवादी कांग्रेससंग सरकारमा हुंदा समेत उनले कांग्रेस र एमाले दुवैसंग गठबन्धन गर्ने प्रस्ताव गरेका थिए । त्यसका लागि कांग्रेससंग नेता वर्षमान पुन र एमालेसंग वार्ता गर्न जनार्दन शर्मालाई परिचालन गरेका थिए । कांग्रेससंग सिट संख्यामा कुरा नमिलेपछी सरकारमै हुंदा समेत त्यो बेला एमालेसंग चुनावमा गठबन्धन हुंदै पार्टी एकता समेत भएको थियो । अहिले पनि दाहालले त्यही रणनीति कायम राखेका छन् ।

उनले बेला बेलामा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफुलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै झस्काउने गरेका छन् । देउवाले दाहालले आफुलाई गठबन्धनको लागि दबाव दिन प्रधानमन्त्रीको कार्ड फाल्ने गरेको निकटस्थहरुलाई बताउने गरेका छन् । वामपन्थी दलहरु मिल्ने भयले प्रधानमन्त्री देउवा समेत त्रसित बनेको कांग्रेस नेताहरु नै बताउंछन् ।

माओवादीभित्र नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन वामपन्थी शक्तिहरु मिलेर जानुपर्ने पक्षमा देखिएका छन् । ती मध्ये श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली र पुनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीसंग छलफल नै सुरु गरिसकेका छन् ।

अर्थमन्त्री समेत रहेका माओवादी नेता जनार्दन शर्मा र पुर्व गृहमन्त्री शक्ति बस्नेत भने अहिलेकै गठबन्धनसंग मिलेर जानुपर्ने पक्षमा रहेको माओवादी स्रोत बताउंछ । बस्नेत र गृहमन्त्री शर्मा दुवै कांग्रेस नेताहरुसंग निरन्तर छलफलमा छन् ।

माओवादी नेता पुनले सार्वजनिक कार्यक्रममै कांग्रेसले दम्भ देखाए एमालेसंग मिलेर जान सकिने धारणा समेत राख्दै आएका छन् । मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा नेता पुन र ज्ञवालीको विदेश नीति र एसपीपीबारे समान धारणा आएपछी कार्यक्रममका संचालक रहेका नेता विष्णु रिजालले एउटै पार्टीका सचिव र उपमहासचिवले बोलेजस्तो लागेको भन्दै टिप्पणी गरेको विषयले पनि माओवादीभित्र चर्चा पाएको छ ।

अर्थमन्त्री समेत रहेका माओवादी नेता जनार्दन शर्माले माओवादी अध्यक्ष दाहालको निवासमा नेता पुनले एमाले नेताको जस्तै धारणा राखेको र केपी ओलीसंग मिल्न खोजेको भन्दै असन्तुष्टि जनाएको स्रोत बताउंछ । उक्त बैठकमा माओवादी नेता पुन समेत सहभागी थिए ।

माओवादीभित्र कांग्रेस र एमालेसंग मिल्नुपर्छ भन्ने नेताहरुका आ –आफ्नै स्वार्थ छन् । अहिले माओवादीमा नेताहरु वर्षमान पुन र जनार्दन शर्माको निर्वाचन क्षेत्रमात्रै सजिलै जित्ने अवस्थामा छ । तर, तुलनात्मक रुपमा बस्नेतको निर्वाचन क्षेत्र कमजोर रहेको बताइन्छ । शर्माको पनि पहिलेभन्दा अवस्था कमजोर रहेको माओवादी कार्यकर्ताहरु बताउंछन् । बस्नेतको जिल्लामा स्थानीय निर्वाचनको परिणाम समेत उनको सोचेको जस्तो नआएपछी उनि कांग्रेससंग गठबन्धन गरेर सुरक्षित हुन खोजेका छन् ।

शर्मा सरकारमा मन्त्री रहेकाले गठबन्धनका पक्षमा छन् भने बस्नेतले कांग्रेससंग गठबन्धन हुंदा चुनावमा आफ्नो पोजिशन बलियो हुने विश्लेषण गरेका छन् । कांग्रेस नेताहरु बढीमा २५ सिटसम्म गठबन्धन गर्ने पक्षमा देखिएका छन् । त्यसका लागि शिर्ष नेताहरुको निर्वाचन क्षेत्रमा मात्र गठबन्धन गर्ने उसको तयारी छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सबै ठाउंमा गठबन्धन सम्भव नभएको बताउंछन् । उनले मिल्ने ठाउंमा भने गठबन्धन गरेरै जाने बताए । माओवादी र कांग्रेसबीच खासगरी अमेरिका र चीनसंगको सम्बन्धलाई लिएर चिसोपन सुरु भएको हो । संसदबाट एमसीसी पास गर्न नहुने पक्षमा रहेको माओवादी पछी ब्याख्यात्मक घोषणा भन्दै एमसीसी पास गर्न सहमत भयो ।

तर, एसपीपी र प्रधानमन्त्रीको अमेरिका भ्रमणबाट माओवादी फेरी संशकित बनेको छ । एमसीसीको ब्याख्यात्मक घोषणाको प्रस्ताव अघि बढाउन दाहालले नेता वस्नेतलाई अघि सारेका थिए । पछिल्लो समय उनले नै टिआरसीलाई अघि बढाउन भुमिका खेलिरहेका छन् । दाहालले बस्नेतलाई अमेरिकासंग र पुनलाई चीनसंग डिल गर्ने जिम्मा दिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement