एमसीए–नेपालद्वारा सबस्टेसन निर्माण सम्बन्धी ठेक्का लिंकसन इण्डिया प्रालिलाई


काठमाण्डु – एमसीए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्बन्धी ठेक्का लिंकसन इण्डिया प्रालिलाई प्रदान गरेको छ ।

सबस्टेसन निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा बिहीबार आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि संयुक्त राज्य अमेरिकी राजदूत डिनआर थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत थम्पसनले भने, ‘नेपालको ऊर्जा सम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार, नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ । घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दो एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा ४०० केभी नयाँ बुटवल सबस्टेसनले सुधार ल्याउनेछ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ४०० केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना भएको र यसले सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान २२० केभी सबस्टेसनलाई सघाउने बताए ।

कार्यक्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement