काठमाण्डु – सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे थप प्रष्ट पार्न अमेरिकालाई आग्रह गरेको छ । सम्झौताका कतिपय बुँदाबारे थप स्पष्ट हुन चाहेको भन्दै अर्थ मन्त्रालयले शुक्रबार अमेरिकी दूतावासमार्फत एमसीसी कार्यालयलाई पत्र पठाएको हो ।
स्रोतका अनुसार अर्थ मन्त्रालयले एमसीसीका ११ वटा मुख्य र अन्य सहायक बुँदाबारे प्रष्ट पार्न भन्दै पत्र लेखेको हो । मन्त्रालयले विशेषगरि एमसीसी इन्डो–प्यासिफिकको हिस्सा भए नभएको, एमसीसीसँग नेपालको सुरक्षा रणनीति जोडिएको वा नजोडिएको भन्ने विषयमा थप प्रष्ट पार्न आग्रह गरेको हो ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाण्डु भ्रमणमा आउंदैछिन् । एमसीसी परियोजना लागु गर्ने बारेमा नेपालमा बिवाद भइरहेको बेला उनी आगामी बिहीवार नेपाल भ्रमणमा आउने भएकी हुन । उनी नेपाल आपउनुपूर्व सरकारले कतिपय बुँदामा प्रष्टता चाहेको हो ।
एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागको बताइएको छ । यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन् । एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्सले यसअघि नेपालको भ्रमण गरेका थिए ।
एमसीसीका विभिन्न तहमा रहेर काम गरेकी सुमार केही समयअघि मात्र उपाध्यक्षमा नियुक्ति भएकी थिईन् । उनी एमसीसी अनुदान सम्बन्धी नेपाल–अमेरिका अन्तिम छलफलका क्रममा सहभागी भएको बताइन्छ ।
नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरु र उच्च सरकारी अधिकारीसंग छलफल गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया