काठमाण्डु– मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजनाअन्तर्गत १५.४५ करोड अमेरिकी डलर बराबरको दुई प्रसारण लाइन खण्डको ठेक्का सम्झौता भएको छ।
विहीबार काठमाण्डुमा आयोजित एक समारोहमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग, र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग भएको हो।
एमसिए नेपालले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत यो सम्झौता गरेको हो। यससँगै नेपालमा एमसीसी परियोजना पुनः सक्रिय भएको छ।
नेपाल विद्युत प्राधिकरण, अर्थ मन्त्रालय, एमसीसीका कार्यबाहक उपाध्यक्षसहित एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, निर्माण, स्थापना, परीक्षण र सञ्चालनका काम हुनेछन्। यसको संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर हुनेछ।
समारोहमा बोल्दै एमसीसीका कार्यबाहक उपाध्यक्ष जोन विङ्गले यस सम्झौतामार्फत एमसीसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यमा अमेरिकी सहयोग पुनः पुष्टि गरेको बताए।
एमसीसी नेपाल कम्प्याक्ट नेपालको दीर्घकालीन आर्थिक विकासका लागि ६९ करोड ७० लाख अमेरिकी डलरको ऐतिहासिक लगानी हो। यसले निजी क्षेत्रको लगानी बढाउन सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्य राखेको छ।
विद्युत प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गर्दै अन्तरजोड विस्तारमार्फत आर्थिक वृद्धिमा टेवा पुर्याउन एमसीसी नेपाल कम्प्याक्ट तयार गरिएको हो।




प्रतिक्रिया