एमसीसीको विरुद्धमा तात्दैछ सड्क : माओवादी र समाजवादीको एमसीसीमा दोधारे नीति

एमसीसीको विरुद्धमा तात्दैछ सड्क : माओवादी र समाजवादीको एमसीसीमा दोधारे नीति


काठमाण्डु – सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई संसदबाट पारित गर्ने तयारी गरेपछी त्यसको चौतर्फी विरोध सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गर्न सत्तारुढ दलभित्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसंग सघन वार्ता गरिरहेका छन् । उनले मंगलबार राति समेत नेकपा एमालेका प्रभावशाली नेताहरुसंग गोप्य भेटवार्ता गरेको स्रोतको दावी छ ।

प्रधानमन्त्री देउवाले आफु मात्र होईन निकट नेताहरुलाई समेत एमसीसी पारित गर्नका लागी भुमिका खेल्न परिचालन गरेका छन् । देउवा गठबन्धन जोगाएर एमसीसी पारित गर्ने पक्षमा भएपनि सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी दल भने त्यसको विरुद्धमा छन् । जसले गर्दा गठबन्धन समेत धरापमा पर्न लागेको छ ।

सभामुख अग्नी सापकोटा समेत सत्तारुढ दलहरुको बीचमा सहमति नबनाएसम्म संसदमा एमसीसी टेबल गर्न नदिने पक्षमा छन् । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपनि सभामुखले त्यसलाई टेबल नगर्ने संकेत दिएपछी सभामुख सापकोटालाई हटाएर समेत अघि बढाउने पक्षमा देउवा छन् । त्यसका लागी समेत हस्ताक्षर संकलन भइरहेको बताइन्छ ।

एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै अहिले दलहरुभित्र मात्र होईन सड्कमा समेत आन्दोलन सुरु भएको छ । उनिहरुले संसदबाट एमसीसी अनुमोदन नगर्न खबरदारी सुरु गरेका हुन् ।

एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी,नेकपा क्रान्तिकारी माओवादी, नेकपा,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र नेकपा माओवादी केन्द्र समाजवादीले आन्दोलन सुरु गरिकसकेका छन् ।

राष्ट्रिय जनमोर्चा समेत एमसीसीको विरोधमा सड्कमा उत्रिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठुलो गठबन्धन नभएकाले एमसीसी पारित नगर्न दलहरुलाई आग्रह गरे ।

उनले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरुले बेठिक काम गरेको समेत बताए । ‘एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको छ । यस विषयमा राजनीतिक दलहरु गम्भीर हुनुपर्छ ।’ केसीले भने ।

एमसीसीमार्फत अमेरिकाले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेको र नेपालको जलश्रोतलाई कब्जा गर्न खोजेको केसीको आरोप छ । जनमोर्चाले मात्र होईन देउवा सरकारमै सहभागी नेकपा एकीकृत समाजवादीले समेत एमसीसी सम्झौताको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको मोर्चा संगठनको बुधवार बसेको बैठकले फागुन १ गते देशभर एकैपटक एमसीसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख विजय पौडेलले जानकारी दिए । समाजवादीभित्र अध्यक्ष माधव नेपाल एमसीसी पारित गर्ने पक्षमा भएपनि अर्का नेता झलनाथ खनाल पक्षधर भने यसलाई पारित गर्न नहुने पक्षमा छन् ।

माओबादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्नको लागी केही समय आवश्यक रहेको भनेर अमेरिकालाई पत्र लेखेको सार्वजनिक भएको थियो । दाहाल एमसीसी पारित गर्नेमा पक्षमा भएपनि पार्टीभित्र भने बहुसंख्यक नेताहरु एमसीसीको विरोधमा छन् । माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ,पम्फा भुसाल, जनार्दन शर्मा, देव गुरुङ,लिलामणी पोखरेल र कृष्णबहादुर महरालगायत एमसीसी संसदबाट अनुमोदन गर्न नहुने पक्षमा छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादव समेत एमसीसीको विपक्षमा छन् ।

सरकारले फागुन २ गते बस्ने संसद बैठकमा एमसीसी प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सरकारको तयारीसंगै यसको विरुद्धमा समेत सड्कमा चर्को विरोध सुरु भएको छ । एमसीसी सम्झौता अनुमोदन नगरे त्यसले नेपाललाई ठुलो क्षती हुने दावी सरकारी अधिकारीहरुको छ । प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरुलाई एमसीसी फिर्ता गए अमेरिकाले बहुपक्षीय र द्धिपक्षीय सहायता रोक्न सक्ने संकेत गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

अमेरिकाले पछिल्लो समय नेपालका विकास साझेदार मुलुकहरुका राजदूतहरुसंग नेपाललाई दिंदै आएको सहायतबारे विचार गर्न आग्रह गरेको स्रोत बताउंछ । अमेरिकी राजदूत रेण्डी बेरीले पछिल्लो समय जापान,बेलायत,जर्मनी,दक्षिण कोरियालगायतका देशका राजदूतहरुसंग छलफल समेत गरेको बताइन्छ । त्यसका साथै अमेरिकाले विश्व बैंक,आइएमएफलगायतका संस्थाहरुमार्फत समेत दबाव बढाउन खोजेको स्रोतको बताउंछ ।

एमसीसीको विषयमा सत्तारुढ दलभित्रै तिव्र बिबाद छ । सत्ता साझेदार दल माओवादी केन्द्र,जसपा र एकिकृत समाजवादीले सत्ता गठबन्धन पनि नछोड्ने एमसीसीको विरोध पनि गर्ने रणनीति अख्तियार गरेका छन् । जसले गर्दा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा अफ्ठेरोमा परेका छन् ।