दिपशीखाले भने- परिणाम जे आयोस् भोग्न तयार छौं, एमसीसी पास गर्न दिँदैनौं

दिपशीखाले भने- परिणाम जे आयोस् भोग्न तयार छौं, एमसीसी पास गर्न दिँदैनौं


काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट वाइसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ ले यथास्थितिमा एमसीसी पारित गर्न नदिने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता सापकोटाले माओवादी केन्द्र एमसीसीको पक्षमा नभएको भन्दै आफुहरु जुनसुकै परिणाम पनि भोग्न तयार रहेको तर यहि अवस्थामा एमसीसी कुनैपनि हालतमा पारित गर्न नदिने बताएका हुन् ।

‘असहमतिमा संसदमा टेबल हुन पाएको छैन । खैर एमसिसि पारित होला, नहोला ! नेकपा माओवादी केन्द्र एमसिसिको पक्षमा छैन । यहि अवस्थामा एमसीसी कुनैपनि हालतमा पारित गरिनुहुन्न । बरु असहमत हुँदा या पारित नगर्दा आउने जे सुकै परिणाम बेहोर्नुपर्छ,’ उनले भनेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, कांग्रेस, जसपा लगायतका केही दल एमसीसी संसदबाटै पारित गर्ने पक्षमा रहेका बेला नेकपा माओवादी केन्द्रभित्र भने एमसीसीका पक्षमा दुई धार देखिएको छ ।

एकपक्ष एमसीसी कुनै हालतमा पनि पास गर्न नहुनेमा रहेको छ भने केहीले एमसीसी भित्र रहेका असहमतिका बुँदाहरु संशोधन गरेर एमसीसी पास गर्न सकिने बताउँदै आएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि आइतबार यसबारेमा आफ्ना भनाई सार्वजनिक गर्दै यथास्थितिमा एमसीसी पास गर्ने अवस्थामा आफुहरु नरहेको बताएका थिए ।

उनले एमसीसीमा सहमत नहुँदा गठबन्धन टुट्ने भन्दै आएका खबरमा सत्यता नभएको समेत बताएका थिए । प्रधानमन्त्री देउवाले भने एमसीसी जसरी पनि पारित गर्नुपर्ने भन्दै दलहरुलाई दबाव बढाएका छन् । उनले पाँच दलीय गठबन्धन सहमत नभए एमालेसँग गठबन्धन गरेर भएपनि एमसीसी पास गर्ने रणनीति बनाएका छन् ।