सत्तागठबन्धनका नेताले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाए : उपमहासचिव ज्ञवाली

सत्तागठबन्धनका नेताले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाए : उपमहासचिव ज्ञवाली


काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमसीसी एउटा विकास परियोजना मात्रै भएको बताउँदै सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले काठमाण्डुमा बुधबार आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक बहसमा उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको आरोप लगाए । ‘अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ। यही बेला सत्तामा रहनुभएका नेताहरु जानी जानी एकखालको भू–राजनीतिक द्वन्द्व निम्त्याउदै हुनुहुन्छ,’ ज्ञवालीले भने ।

एमसीसी परियोजना एउटा विकास परियोजना भएको बताउँदै उनले त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाइको विषय भएको बताए ।

‘त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरु भइरहेका छन् । विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन् । एउटा विकास परियोजनालाई जानिजानि भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरु लागिरहनुभएको छ । सरकार क्लियर होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र, सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ ’ उनले भने ।

तथाकथित गठबन्धका कार्यदलहरूको अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न खोजेको उनले आरोप लगाए । ज्ञवालीले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने स्पष्ट पारे । एमालेले गरेको कामको आधारमा निर्वाचनमा जानका लागि कसैको बैशाखी टेक्नुपर्ने अवस्था नरहेको उनको दाबी थियो ।