काठमाण्डु – सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी)बारे छलफल गर्न ३ सदस्यीय कार्यदल गठन गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो ।
कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।
तीन सदस्यीय कार्यदलको नेतृत्व गरेका खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए । खनालले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने बताउँदै आएका छन् ।
त्यसैगरी कार्यदलमा रहेका माओवादी नेता श्रेष्ठ पनि एमसीसी यही अवस्थामा पारित हुन नहुने लाइनमा छन् । कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता समेत हुन् ।
तीन सदस्यीय कार्यदल गठनलगत्तै आइतबार बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा काँग्रेसबाहेक सबै दलका नेताले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने अडान राखेका छन् ।




प्रतिक्रिया