प्रचण्डको ‘छेपारे चरित्र’ : एमसीसी र देउवासँग घाँटी जोड्ने, सडकमा प्रहरी र कार्यकर्ता लडाउने !

प्रचण्डको ‘छेपारे चरित्र’ : एमसीसी र देउवासँग घाँटी जोड्ने, सडकमा प्रहरी र कार्यकर्ता लडाउने !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विवादमा मुछिइरहने पात्र हुन् । पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्डको ‘छेपारे चरित्र’ उदांगो पारेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि अगाडि बढाउने तयारी गर्दा प्रचण्डको नेतृत्वमा फागुन ४ गते बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी संसदमा टेबुल भए सरकार छाड्ने निर्णय गरेको थियो ।

माओवादी पार्टीको निर्णय सँगसँगै माओवादी पृष्ठभूमिका सभामुख अग्निप्रसाद सापकोटाले कति दिनसम्म संसद बैठक स्थगित गर्दै गए । माओवादीसंग सहमति नगरी संसद बैठक चल्न नसक्ने भन्दै सापकोटाले प्रचण्डको आदेशमा संसद बैठक सार्दै गएका थिए ।

यसैबीच फागुन पहिलो हप्तादेखि नै माओवादी र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी र युवा संगठन एमसीसी विरुद्धमा सडक आन्दोलनमा छन् । सडकमा माओवादी कार्यकर्ता र प्रहरीबीच तनावग्रस्त अवस्था हुँदै आएको छ । माओवादी कर्ताकर्ताकै अगुवाइमा भएको आन्दोलनमा झडपका क्रममा डडेल्धुराका हेमराज अवस्थी गम्भीर घाइते भएका छन् ।

सत्ता गुम्ने भएपछि एमसीसी पास गर्न सहमत

माओवादीले एमसीसीको विपक्षमा उभिने अडान लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेससँं हिमचिम बढाए । उनले माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरू बर्खास्त गर्ने तयारी गरे । त्यसपछि माओवादी र एकीकृत समाजवादी (एस) पार्टी नेतृत्व र मन्त्रीहरू झस्किए ।

देउवाले सत्ता गठबन्धन भत्काउने र मन्त्रीहरू बर्खास्त गर्ने तयारी गरेपछि माओवादी अध्यक्ष प्रचण्ड र एस पार्टी अध्यक्ष माधवकुमार नेपाल एमसीसी पास गर्न सहमत देखिएका छन् । सत्ता गठबन्धन जोगाउन ‘व्याख्यात्मक टिप्पणी’को उपाय निकालेका छन् । तर द्विपक्षीय सम्झौतामा एकपक्षीय टिप्पणीको कुनै अर्थ नहुने जानकारहरू बताउँछन् ।

सोझै पारित गर्दा पार्टीभित्र विरोध हुनसक्ने भएकाले ‘फेस सेभिङ’का लागि ‘व्याख्यात्मक टिप्पणी’को उपाय निकालिएको कांग्रेसका एक नेताले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले मन्त्री बर्खास्त गर्ने तयारी गरेपछि माओवादी र समाजवादी एमसीसी पास गर्न सहमत भएका हुन्,’ उनले भने, ‘यत्रो दिनसम्म चर्काे विरोध गरेको एमसीसी कसरी पास गर्ने त भन्दाखेरी ‘व्याख्यात्मक टिप्पणी’को उपाय निकालिएको छ, अब एमसीसी पास हुन्छ ।’

प्रचण्डले एमसीसी पारित गर्ने सहमति गरिराख्दा नेकपा माओवादी केन्द्रसम्वद्ध जबस मोर्चाहरूको नाममा आज आईतबार दिउँसो समेत विरोध प्रदर्शन आह्वान गरिएको छ । दिनदिनै सडक प्रदर्शनमा उत्रिएर एमसीसीको विरोध गरिरहेका नेता\कार्यकर्तालाई प्रचण्डले कसरी फकाउँछन् ? हेर्न बांकी छ ।

‘छेपारे चरित्र’को आलोचना

सत्ता जोगाउने नाममा प्रचण्ड एमसीसीको पक्षमा उभिएपछि आलोचना सुरू भएको छ । केही दिनअघि माओवादी नेता नारायणकाजी श्रेष्ठले ट्विटरमा लेखेका थिए, ‘हाम्रो पार्टीले महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरूलाई संशोधन नगरी यथास्थितिमा स्वीकार र पारित नगर्ने । हामी त्यसैमा कायम छौं ।’

अमेरिकाले भने एमसीसी संशोधन हुन नसक्ने यसअघि नै स्पष्ट पारिसकेको छ । एमसीसी पास गर्न प्रचण्डले निकालेको ‘व्याख्यात्मक टिप्पणी’को उपाय एकतर्फी व्याख्या हो, जसलाई अमेरिका र एमसीसीले मानेको ठहरिंदैन ।

एमसीसीका राष्ट्रघाती प्रावधानबारे जनतालाई अवगत गराउँदै आएका नेकपा एमालेका नेता भीम रावलले आईतबार बिहान ट्विटरमा लेखेका छन्, ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो । यो महाकाली सन्धिको ‘संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो । देशघाती चरित्र !’

जनता र कार्यकर्तामाझ माओवादी पार्टी कमजोर भइसकेकाले सत्ता गुमाउन नचाहने र चुनावमा गठबन्धन गरेर केही सिट जित्ने आकांक्षाका साथ प्रचण्ड एमसीसी पारित गर्न सहमत भएका स्रोतले जनाएको छ । ‘अब माओेवादीलाई एमालेले पत्याउंदैन, चुनावमा गठबन्धन गर्ने अन्तिम विकल्प कांग्रेस नै हो, त्यसैले एमसीसी पास गरेरै भए पनि देउवालाई खुसी पार्ने उपाय प्रचण्डले निकालेका छन्,’ स्रोतले भन्यो, ‘चुनावमा देउवा खुसी भएर मात्रै हुँदैन, एमसीसी पास गर्दा माओवादी पार्टीको अवस्था जनस्तरमा झन् कमजोर हुने देखिन्छ ।’

प्रचण्डको भूमिकाप्रति लक्षित गर्दै उनकै पूर्व सहकर्मी डा. बाबुराम भट्टराईले ट्विटरमा लेखेका छन्, ‘ कुनै पनि राजनीतिक\सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोच\निष्ठाको धर्म निर्वाह गर्छन् तर आफ्नो निजी, दलीय, गुटीय स्वार्थ निम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् ! भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं !’