एमसीसी परियोजनाका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु


काठमाण्डु – अमेरिकी सहयोगसम्बन्धी (एमसीसी) परियोजनाका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरू गरिएकाे छ ।

अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्वारा सन्चालित विद्युत ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हाे ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सूचना जारी गर्दै रातमाटे सबस्टेसनदेखि नयाँ हेटौँडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकामा पर्ने जग्गा,जग्गामा रहेका घर गोठ,टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गरिने जनाएको छ ।

सूचना प्रकाशित भएको २१ दिनभित्र सरोकारवालाहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ ।

यो प्रसारण लाइनको क्षमता ४०० केभी हुनेछ । त्यस्तै, रातमाटे, दमौली र बुटवलमा तीनवटा ४०० केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन् । प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ४० करोड डलर खर्च गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement