एमसीसी फिर्ता जान दिँदैनौं : प्रचण्ड

एमसीसी फिर्ता जान दिँदैनौं : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीको विषय सर्वदलीय बैठकले टुङ्गो लगाउने बताएका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी त्यति ठुलो विषय नभएको भन्दै सर्वदलीय छलफलबाट यसको टुंगो लाग्ने बताएका हुन् ।

‘एमसिसी त्यति ठूलो समस्या हो भन्ने लाग्दैन, सर्वदलीय, सर्वपक्षीय छलफलबाट यसको टुङ्गो लाग्छ,’ उनले भने । नेकपा एमालेको महाधिवेशनपछि हुने सर्वदलीय बैठकमा यस विषयमा छलफल भएर अघि बढ्ने उनको भनाइ थियो । उनले थपे, ‘सुरुआतमा गरिएको समझदारी र पछि भएको समझदारीमा देखिएको विवादमा मात्रै केही समस्या हो, अरु केहि होइन ।’

पछिल्लो समय भएको समझदारीमा देखिएको अन्तरविरोधका कारण समस्या आएको प्रचण्डको भनाइ थियो । ‘हामी अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने चाहँदैनौँ र सकेसम्म फिर्ता जान पनि दिँदैनौं’ उनले भने । नेपाल र अमेरिकाबीचको सम्बन्ध ७५ वर्ष पुरानो रहेको भन्दै उनले एमसिसीको समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।

त्यस्तै उनले पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेको बताए । एनले भने, ‘अहिले अदालतमा देखिएको समस्या सकेसम्म अदालतभित्रबाटै समाधान होस् भन्ने हाम्रो चाहना हो, राजनैतिक दलहरुले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना हो ।’ अदालतमा देखिएको समस्याप्रति दलहरु चिन्तित रहेको प्रचण्डको भनाइ थियो ।

‘गठबन्धनका तर्फबाट हामीले बनाएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यसको गरिमा स्वतन्त्रतालाई अविच्छिन्न राख्ने गरी छिटोभन्दा छिटो समाधान होस् भन्न हाम्रो चाहना रहेको बताइसकेका छौँ,’ उनले भने ।
पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनले सहमतिमा नै नेतृत्व चयन गर्ने उनले विश्वास व्यक्त गरे ।

वडा, नगर हुँदै हुने अधिवेशनलगत्तै राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने उनको भनाई थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता हुन लागेको हो भन्ने पत्रकारको प्रश्नमा उनले सहकार्य भएर अघि बढ्ने बताए । उनले भने, ‘विप्लवजीसँग मेरो नियमित जसो सम्पर्क भएको छ, अहिले भर्खर पार्टी एकता भन्ने होइन, सहकार्य गरेर जानुपर्छ भन्ने हो ।’ बिस्तारै परिवर्तनका मुद्दामा सहकार्य गर्दै जाँदा एकता हुन पनि सक्ने उनको भनाइ थियो ।