काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सचिवालय बैठकले एमसीसी संसदबाट अनुमोदन नभएसम्म बाँकी काम तत्काल अघि नबढाउन निर्देशन दिने निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकमा एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने निकर्ष निकालेको हो ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको भन्दै संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुने बताए । यसअघि नै प्रधानमन्त्रीले एमसीसी पारित हुने आशय व्यक्त गरेका थिए भने संसदमा निणयार्थ पेस भएपछि जे निर्णय आउँछ सोही आधारमा सरकार अघि बढ्ने बताएका थिए ।
बैठकले संसदमा एमसीसीको विषयमा अर्थमन्त्रीले सोहीअनुसार जवाफ दिने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा रावलसहित अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत सहभागी भएका हुन् ।
अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममा एमसीसी संसदको अंग बनेको भन्दै सम्बोधन गरेकाले बजेटमा पनि उल्लेख गरिएको जानकारी गराएका थिए । उनले नीति तथा कार्यक्रम अनुनसार बजेट बनाएको बताउँदै एमसीसी संसदबाट अनुमोदन भए बजेटमा उल्लेख गरिएअनुसार अघि बढ्छ नभए खारेज हुने धारणा राखेका थिए ।
प्रधानमन्त्रीले पनि पारित भए अघि बढाउने नभए अघि नबढाउने बताएका थिए । नेकपा नेता रावलका अनुसार एमसीसी अनुमोदन नभएसम्म कुनै पनि काम अघि नबढ्ने विषयमा निष्कर्ष निकालिएको बताए । आजको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधिनतामा सम्झौता गर्नेगरी अघि नबढ्ने बताएका थिए भने झलनाथ खनाल, माधव नेपाल, गौतम, नारायणकाजी श्रेष्ठ, नेता रावललगायतले अहिले बजेटमा किन उल्लेख गरिएको भन्दै प्रश्न गरेका थिए ।
करीव ५० अर्बको एमसीसी परियोजना उर्जा अन्तर्गत अन्तरदेशीय विद्युत प्रसारण लाइन र सडक पूर्वाधारमा खर्च हुने भनिएको छ । सबै अनुदान एकै आर्थिक वर्षमा खर्च नहुने भएकाले सम्भावित स्रोतका रुपमा एक वर्षमा खर्च गर्न सकिने रकम बजेटमा पारिएको हुन्छ ।तर, संसदबाट एमसीसी परियोजना पास नभएसम्म सो रकम प्राप्त नहुने भएकाले सरकार संसदको यसै अधिवेशनबाट एमसीसी पारित गराउन खोजिरहेको छ । यसबारे नेकपाभित्र विवाद कायमै छ ।




प्रतिक्रिया