एमसीसी पास गर्ने विषयमा सबै दलको विरोध, एक्लियो कांग्रेस

एमसीसी पास गर्ने विषयमा सबै दलको विरोध, एक्लियो कांग्रेस


काठमाण्डु – संसदमा रहेको गतिरोध हटाउने तथा एमसीसीबारे साझा धारणा बनाउने प्रयासस्वरुप आइतबार बसेको सर्वदलीय बैठक सकिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबिना बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसबाहेक सत्ता गठबन्धनका दलहरुले एमसीसीको विरोध गरेका छन् ।

सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा एमसीसी पेस गर्ने संकेत गरेपछि बैठकमा सत्ता गठबन्धनका दलहरुले नै एमसीसी परिमार्जनबिना पास गर्न नहुने भन्दै विरोध गरेका हुन् ।

बैठकमा सहभागी नेमकिपा सांसद प्रेम सुवालले दिएको जानकारी अनुसार सरकारी पक्षबाट एमसीसी पास गर्ने संकेत मिलेपछि नेकपा माओवादी कन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सांसद् वेदुराम भुसालले विरोध जनाएका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीले भने संशोधनपछि मात्रै पारित गर्नुपर्ने बताएका थिए ।

एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले धारणा राख्न आग्रह गरेको र आफूले विभिन्न धाराहरुका सन्दर्भ उल्लेख गरेर त्यसलाई राष्ट्रघाती भएको बताएको उनले बैठकपछि जानकारी दिए । सुवालका अनुसार एमसीसीबारे राष्ट्रिय जनमोर्चाले पनि बिरोध गरेकाे थियाे।

जसपा र कांग्रेस भने एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको उनले बताए । तर, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने संशोधन गरेर पास गर्नुपर्ने बताएका थिए ।

यता सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने एमसीसीका बारेमा थप छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको बताए । एमसीसीलाई कसरी अगाडी बढाउने भन्ने बारेमा दलहरुले विचार राखेको उनको भनाइ थियो ।