एमसीसी सकस : एक्लियो कांग्रेस, भत्किँदैछ सत्ता गठबन्धन ?

एमसीसी सकस : एक्लियो कांग्रेस, भत्किँदैछ सत्ता गठबन्धन ?


काठमाण्डु – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने विषयमा सत्ता गठबन्धनकै दलहरुले विरोध जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने र बहुमतबाट पारित गर्ने तयारी गरेपछि सत्ता गठबन्धनकै नेताहरुले विरोध जनाएका हुन् ।

आइतबार बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिना बसेको सर्वदलीय बैठकमा नेपाली काँग्रेसबाहेक गठबन्धनका सहयात्री दलहरू यथास्थितिमा पारित गर्न नहुने पक्षमा उभिए ।

बैठकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तराष्ट्रिय विश्वसनीयता जोगाउनका लागि भए पनि एमसीसी अनुमोदन गरेर जानुपर्ने बताएका थिए ।

एमसीसी संसद्को सम्पत्ति भैसकेकाले जुनसुकै हालतमा पास गर्नुपर्ने कार्कीको प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले अस्वीकार गरे ।

प्रधानमन्त्री देउवा ‘वारपार’ को अवस्थामा देखिएपछि गठबन्धनका अन्य नेताहरुले भने एमसीसीमा बुँदागत छलफल गरेर नेपालको हितमा हुनेगरी पारित् गर्नुपर्ने अडान राखेका थिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालका अनुसार बैठकमा काँग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलले एमसीसी हुबहु पारित गर्न नसकिने धारणा राखेका थिए । एमसीसी सम्झौतालाई लिएर सत्ता गठबन्धनभित्रै मैतएक्यता हुन् सकिरहेको छैन् ।

गठबन्धनका प्रमुख दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनबिना एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने अडानमा छन् ।

गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा रहेको छ भने जनता समाजवादी पार्टीले एमसीसीबारे हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर, जसपाका अध्यक्ष डा बाबुराम भट्टराई भने एमसीसीको पक्षमा खुलेर लागेका छन् ।

उनले एमसीसी पास गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आइरहेका छन् । एमसीसी सम्झौता नेपाली काँग्रेस र माओवादीको संयुक्त सरकार भएका बेला आजभन्दा ४ वर्षअघि २०७४ साल भदौं २९ गते वासिङ्गटनमा भएको थियो ।

त्यसबेला मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसयता एमसीसीको विषयलाई लिएर नेपाली राजनीतिमा चर्को राजनीतिक ध्रुवीकरण भएको छ ।

अमेरिकी प्रतिनिधिहिरूले समेत यसबीचमा पटक–पटक नेपालको भ्रमण गरेर एमसीसी चाँडो अनुमोदन गर्न आग्रह गरेका छन् । यसले गर्दा नेपालमा राष्ट्रिय बहसको विषय बनेको छ एमसीसी ।

अहिले पनि काँग्रेस र माओवादीकै गठबन्धन सरकार छ । एमसीसी यही डिसेम्बरमा संसदले अनुमोदन नगरे सहयोग फिर्ता लैजाने अमेरिकाले चेतावनी दिइसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री देउवा र उनको दल एमसीसी जसरी पनि पास गनुपर्न भन्ने होडमा छन् ।  प्रधानमन्त्री देउवाले संसदबाट जसरी पनि एमसीसी पास गराउने हो भने एमालेको साथ खोज्नुपर्ने हुन्छ ।

तर, यता प्रमुख प्रतिपक्षी एमाले भने एमसीसीबारे पर्ख र हेरको रणनीतिमा छ । आफु नेतृत्वको सरकार हुँदा एमसीसी पारित गर्न अथक प्रयास गरेका एमाले अध्यक्ष केपी ओली अहिले मौन छन् । एमालेले एमसीसीलाई सत्ता गठवन्धन टुटाउने रणनीति बनाएको छ । एमालेको यो मौनतालाई गठबन्धन भत्काउने रणनीतिका रुपमा आशंका गरिएको छ ।