अन्ततः एमसिसीबाट पछि हट्यो श्रीलंका, नेपाल अझै अन्यौलमा


एजे्नसी – अन्ततः श्रीलंका सरकारले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) सम्झौतामा हस्ताक्षर नगर्ने भएको छ । लामो छलफलपछि श्रीलंका सरकारले एमसिसी सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् लगानी प्रवर्द्धन राज्यमन्त्री केहेलिया रम्बुक्वेल्लाले प्रधानमन्त्री महिन्दा राजापाक्षेको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले ‘सम्झौतामा हस्ताक्षर नगर्ने’ निर्णय गरेको जानकारी दिएका हुन् ।

नेपालमा जस्तै श्रीलंकामा पनि उक्त विषय लामो समयदेखि बहसमा रहँदै आएको थियो । एमसिसी सम्झौतामा हस्ताक्षर गरेको खण्डमा श्रीलंकाले ४८० मिलियन अमेरिकी डलर (झण्डै ५४ अर्ब रुपैयाँ) सहायता प्राप्त गर्ने थियो ।

भूमिसुधार तथा यातायात व्यवस्थाको आधुनिकीकरणमा उक्त रकम खर्च गर्ने गरी अमेरिकी सहायता आउने भएपनि विवाद चर्केपछि सरकार पछि हटेको हो ।

‘प्रस्ताव गरिएकै अवस्थामा सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय भएको छ’, शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता रम्बुकवेल्लाले भने, ‘यद्यपि, संशोधनबारे छलफल गर्न हामी खुला छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement