काठमाण्डु – एमसीसीकी उपाध्यक्ष फातिमा सुमार अहिले नेपाल भ्रमणका क्रममा काठमाण्डुमा छिन् । उनको भ्रमणको विषयलाई लिएर नेपालमा विभिन्न खाले टिका टिप्पणीहरु भइरहेका छन् । सुमार अमेरिकाको मध्यम तहको भएपनि उनको भ्रमणलाई लिएर सामाजिक संजालदेखी संचारमाध्यमहरु उनकै समाचार र टिका टिप्पणीले भरिएका छन् ।
अमेरिकी आर्थिक सहयोग परियोजना समेटिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अहिले संसदमा विचाराधीन अवस्थामा छ । एमसीसीको विषयमा नेपालका प्रमुख राजनीतिक दलहरुबीच सहमती हुन नसकेपछि त्यो परियोजना अघि बढ्न सकेको छैन ।
एमसीसीलाई अघि बढाउने विषयमा छलफल गर्न उनको नेपाल भ्रमण भएको हो । एमसीसी परियोजना अघि बढाउनेदेखी हस्ताक्षर गर्नेसम्म हाल संसदमा भएका लगभग सबै दलहरुको भूमिका रहेको छ । तर, उनिहरुले यसलाई राजनीतिक मुद्दा बनाएका छन् । यो पारित नभएको अवस्थामा अमेरिकाले एमसीसी फिर्ता लिने तयारी गरेको छ ।
फातिमा नेतृत्वको प्रतिनिधी मण्डल काठमाण्डु ओर्लेकै दिन उनिहरुको टोलीले संसदको सबैभन्दा ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेको थियो । त्यसपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसंग भेटवार्ता गरेको थियो ।
बिहिवार एमाले अध्यक्ष ओलीसंग भएको भेटवार्तापछि सार्वजनिक भएको तस्बिरको यतिबेला सामाजिक संजालमा विरोध भइरहेको छ । खासगरी माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले त्यो तस्विर र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग खिचेको फोटोको तुलना सामाजिक संजालमा गरिरहेका छन । उनिहरुले दाहालसंग भेट्दा शिष्टाचार प्रस्तुत गरेको तर ओलीसंग त्यो नगरेको आरोप लगाईरहेका छन् ।
दाहालसंग एमसीसी उपाध्यक्षले शनिवार भेटेकी थिईन । ओलीसंगको भेटमा उनी अनौपचारिक ड्रेसमा छन् भने दाहालसंगको भेटमा कुर्ता सुरुवाल लगाएकी छन् । उनले ओलीसंगको भेटमा उपरखुट्टी लगाएर अपमान गरेको भन्दै त्यो फोटो सामाजिक संजालमा भाइरल भएको छ । उपरखुट्टी लगाएर उनले ओलीको अपमान गरेको भन्दै धेरैले त्यसको विरोध गरेका छन् । तर, भेटमा छलफल भएको विषय र प्रमुख नेताहरुले त्यो भेटमा अरु क कसलाई सहभागी गराएको भन्ने विषयमा भने बहस भएको देखिदैन ।
एमसीसी उपाध्यक्षसंगको भेटमा एमाले अध्यक्ष ओलीले पार्टीका विदेश विभाग प्रमुख राजन भट्टराई, स्थायी समिति सदस्य विष्णु रिमाल र प्रचार विभागका उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य सुर्य थापालाई सहभागी गराएका छन् । त्यसैगरी शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले समेत उनिसंगको भेटमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मुख्यसचिव शंकरदास वैरागीलाई संगै राखेका छन् ।
प्रधानमन्त्री देउवाले मात्र हैन नेकपा एकिकृत समाजवादीका प्रमुख नेपालले समेत पार्टीका नेता गंगालाल तुलाधार र विदेश मामिला हेर्ने पार्टीका नेता मिलन तुलाधारलाई राखेर वार्ता गरेका छन् । मिलन झलनाथ खनाल प्रधानमन्त्री हुंदाका विदेश मामिला सल्लाहकार समेत हुन ।
जसपाबाट संघिय परिषद अध्यक्ष बावुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुवै जना भेटमा सहभागी भएका छन् । तर, माओवादी अध्यक्ष दाहालले भने त्यसको ठिक विपरित भेटमा पार्टीका कुनै पनि नेताहरुलाई सहभागी गराएको देखिएको छैन । भेटमा माओवादी केन्द्रका प्रभावशाली नेताहरु नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई समेत उक्त भेटमा सहभागी गराइएको छैन ।
माओवादी केन्द्रको विदेश विभाग प्रमुख राम कार्की छन् । उनि समेत भेटमा सहभागी थिएनन् । पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भेटमा आफ्ना स्वकिय सचिव जोखबहादुर महरा र छोरी गंगा दाहाललाई भेटवार्तामा संगै राखेका छन् ।
दाहालले यसअघि चिनियां विदेशमन्त्री वाङ यी नेपाल आउंदा होटल म्यारियटमा भएको भेटवार्तामा समेत महरा र छोरी गंगालाई सहभागीता गराएको भन्दै आलोचना भएको थियो ।





प्रतिक्रिया