मेची राजमार्ग तत्काल खुल्ने सम्भावना कम

मेची राजमार्ग तत्काल खुल्ने सम्भावना कम

तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल रुटमा साना गाडी चल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – असोज १८ गतेको वर्षापछि गएको ठुलो पहिरोले अवरुद्ध मेची राजमार्ग तत्काल नखुल्ने भएको छ ।

राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए ।

उनले जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको पनि बताए । सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । सडक अवरुद्ध भएपछि ९ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका गाडी आवागमनमा समस्या भएको छ ।

यसैबीच, राजदुवाली सडक खण्डको सट्टा वैकल्पिक मार्गको पहिचान गरी साना गाडी सञ्चालनको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।

आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा तत्कालका लागि साना गाडी सञ्चालनमा ल्याइएको भएपनि सोमबारदेखि तिल्केनी–सिमलगो सडक खण्ड हुँदै साना गाडी सञ्चालन गरिएको छ ।

तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलामा सडक डिभिजनमार्फत ह्युमपाइप राखेर डाइभर्सनको काम सुरु गरेको छ ।

ठूला तथा मालवाहक गाडी चलाउनका लागि भने अहिलेसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी नेपालको भनाइ छ ।

तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल र तिल्केनी–सिमलगोलाई सडकमा तीव्र मोड र साँघुरोपनाका कारण ठूला गाडी सञ्चालनका लागि कठिनाइ भएको छ ।

सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको राजदुवाली सडकखण्ड पुनःनिर्माणको काम अहिलेका लागि स्थगन गरेको छ । राजदुवालीमा भूसंरचनाका कारण समस्या भएको र तत्काल वैकल्पिक मार्गमा नै श्रोतसाधन र जनशक्ति परिचालन गर्नुपर्ने भएकाले राजदुवाली सडकखण्ड पुनःनिर्माण स्थगन गरिएको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनयर अर्जुन घिमिरेले बताए ।

‘हामी अहिलेसम्म राजदुवाली खण्ड खुलाउने प्रयासमा लाग्यौँ, तर सफल हुन सकिनौँ’, घिमिरेले भने, ‘अहिले वैकल्पिक मार्गमा स्रोतसधान र जनशक्ति परिचालन गरेका छौँ, त्यो सकेपछि पुनः राजदुवाली खण्ड पुनःनिर्माणमा लाग्नेछौँ ।’