एक हप्तादेखि मेची राजमार्ग अवरुद्ध

एक हप्तादेखि मेची राजमार्ग अवरुद्ध

ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गएको असोज १८ गते ठूलो वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा ठप्प छ ।

सडक डिभिजन इलाम, स्थानीयबासिन्दा र सुरक्षाकर्मीले एक हप्तादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि सडक खुल्न सकेको छैन । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए ।

ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ । सिङ्गो डाँडा नै भासिएकाले समस्या भएको र पहिरो पन्छाउन सडक डिभिजनले तीनवटा उपकरणको प्रयोग गरिरहेको छ । मर्मत नहुन्जेलसम्म यो सडक सञ्चालनमा रोक लगाइएको छ ।

मेची राजमार्गको राजदुवाली र इलाम–नेपालटार खण्डको मिलगोलाईमा ठूलो क्षति पुगेको छ । तर मिलगोलाईको अवरोध हटाइसकिएको सडक डिभिजनले जनाएको छ । मिलगोलाईको अवरोध हटाएपछि पाँचथर र ताप्लुजेङबाट राजदुवाली पहिरोमाथिसम्म गाडी सञ्चालनमा आएको छ ।

झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा छ । तर राजदुवालीमा पहिरो खसेकाले सडक अझै अवरुद्ध रहँदा इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन् ।

इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने गाडी राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने गाडी माईखोलामा रोकिएका छन् ।

झन्डै डेढ किलोमिटर यात्रुलाई पैदल नै आवतजावत गर्नुपर्ने बाध्यता छ । बिरामी र ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माईखोला पारिबाट राजदुवाली माथिसम्म र राजदुवाली माथिबाट माईखोला पारिसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।

वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक)अन्तर्गत पुवाखोला र तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाईखोलाको बेलीब्रिज पनि बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन ।
इलाममा बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका र एक जना बेपत्ता छन् ।