काठमाण्डु- तनहुँ बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा व्यवसायीले करिब ४० लाख रुपैयाँ बराबरका आधुनिक प्रयोगशाला उपकरण सहयोग गरेका छन्।
लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पताललाई प्रयोगशाला सञ्चालनका लागि आवश्यक अत्याधुनिक मेसिनहरू हस्तान्तरण गरेका हुन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब २० लाख रुपैयाँ मूल्यका दुईवटा मेसिन सहयोग गरेको छ। तीमध्ये क्लिया मेसिन र पीटी आईएनआर मेसिन रहेका छन्।
क्लिया मेसिनमार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी–१२, पाठेघरको क्यान्सर प्रोस्टेट क्यान्सर लगायतका हर्मोन तथा रोगसम्बन्धी परीक्षण गर्न सकिने जनाइएको छ।
त्यस्तै पीटी/आईएनआर मेसिनले रगत जम्ने क्षमता, मुटुरोगीको अवस्था तथा सर्प वा अरिङ्गालको टोकाइपछिको परीक्षणमा समेत सहयोग पुर्याउने बताइएको छ।
यसैगरी लोयल ट्रेडर्सले पनि करिब २० लाख रुपैयाँ मूल्यका थप उपकरण उपलब्ध गराएको छ। जसअन्तर्गत पूर्ण रूपमा स्वचालित बायोकेमेस्ट्री परीक्षण मेसिन र हेमाटोलोजी एनालाइजर मेसिन रहेका छन्।
बायोकेमेस्ट्री मेसिनबाट कलेजो, मिर्गौला, युरिक एसिड, एमाइलेज, लाइपेजलगायतका परीक्षण गर्न सकिन्छ भने हेमाटोलोजी एनालाइजरले रगतमा रहेका विभिन्न कोषहरूको विस्तृत परीक्षण गरी रोग पहिचानमा सहयोग गर्ने अस्पतालले जनाएको छ।
अस्पतालले प्राप्त उपकरणले सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य परीक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।




प्रतिक्रिया