नेपाल जस्तै मेडागास्करमा पनि जेन जीले गर्‍यो सत्ता परिवर्तन

नेपाल जस्तै मेडागास्करमा पनि जेन जीले गर्‍यो सत्ता परिवर्तन

देश सेनाको हातमा, राष्ट्रपति विदेश पलायन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिन्द महासागरमा एउटा टापु राष्ट्र छ–मेडागास्कर, जहाँ नेपाल जस्तै जेन जीको आन्दोलन भएको छ ।

मेडागास्करमा जेन जी आन्दोलनले पनि नेपाल जस्तै सत्ता परिवर्तन गरेको छ भने राष्ट्रपति देशबाटै पलायन भएका छन् ।

यद्यपी नेपालमा भएको जेन जी आन्दोलनले सत्ता परिवर्तन गरेपनि तत्कालीन प्रधानमन्त्रीले देश छाडेर भने भागेका थिएनन् ।

नेपालको जेन जी आन्दोलनलाई नै पहिलो ‘जेन जी आन्दोलन’ मानिन्छ । आन्दोलन उत्कर्षमा पुगेपछि त्यहाँको सेनाले शासनको नियन्त्रण आफ्नो हातमा लिएका छन् ।

मेडागास्करको विशेष सैन्य इकाइले राष्ट्रपति एन्ड्री रजोएलिनालाई सत्ताबाट हटाउँदै सरकारको जिम्मेवारी आफ्नो हातमा लिएको घोषणा गरेको छ ।

रोचक कुरा के छ भने, सन् २००९ मा जब रजोएलिनाले तत्कालीन राष्ट्रपति मार्क रावालोमानानालाई हटाएर सत्ता कब्जा गरेका थिए, तब सेनाले नै उनलाई समर्थन गरेको थियो ।

सेनाले सत्ताको नियन्त्रण आफ्नो हातमा लिँदै संवैधानिक अदालत र निर्वाचन आयोगसहितका प्रमुख लोकतान्त्रिक संस्थाहरू निलम्बित गरेको छ ।

यो कदम त्यही बेला आएको हो जब राष्ट्रिय संसदले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । तर राष्ट्रपति रजोएलिनाले यो मतदानलाई ‘अवैध’ भन्दै अस्वीकार गरेका थिए र अज्ञात स्थानमा लुकेर बसेका छन् । फेसबुक लाइभमार्फत उनले आफू अझै पनि वैध राष्ट्रपति रहेको दाबी गरेका छन् ।

दुई हप्ता अघि देशभर पानी र बिजुलीको अभावका कारण युवाहरूको नेतृत्वमा आन्दोलन सुरु भएको थियो, जसलाई ‘जेन जी’ आन्दोलन भनिएको थियो ।

यो आन्दोलन विस्तार हुँदै गयो । र, पछि महँगीजस्ता विषयमा पनि आक्रोशित जनताले राष्ट्रपति रजोएलिनालाई हटाउन माग गरे । शनिबार सेनाको सबैभन्दा शक्तिशाली इकाइका सुरक्षाकर्मीहरूले आफ्ना ब्यारेक छोडेर प्रदर्शनकारीहरूको साथ दिएका थिए ।

समाचारअनुसार देशभित्रको विरोध थाम्न नसकेर राष्ट्रपति रजोएलिना फ्रान्सेली सेनाको सहयोगमा दुबई पुगेका छन् । सोमबार रात उनले आफ्नो ज्यान जोखिममा परेको भन्दै आफू ‘सुरक्षित स्थानमा’ पुगेको घोषणा गरेका थिए ।

केही घण्टापछि संसदले राष्ट्रपति पद रिक्त रहेको जनाउँदै महाभियोग प्रक्रिया सुरु गरेको थियो । त्यसपछि रजोएलिनाले संसद भंग गर्ने घोषणा गरे । तर सांसदहरूले मतदान गरेर महाभियोग प्रक्रिया पूरा गरे ।

त्यसपछि सेनाले सरकार आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको थियो । सेना प्रमुख कर्नल मिचेल रान्द्रियानिरिनाले आगामी १८ महिना देखि २ वर्षभित्र निर्वाचन गराउने घोषणा गरेका छन् ।

उनले भने, ‘मेडागास्करका जेन जी प्रदर्शनकारीहरू यो परिवर्तनको हिस्सा हुनेछन्, किनकि आन्दोलन सडकबाट सुरु भएको हो र हामीले उनीहरूको मागको सम्मान गर्नुपर्छ ।’

उनका अनुसार वर्तमान शासनलाई हटाउनुबाहेक अरू विकल्प सेनासँग थिएन ।

कहाँ छ मेडागास्कर ?

अफ्रिकाको दक्षिण–पूर्वी तटबाट टाढा अवस्थित मेडागास्कर संसारको चौथो ठूलो टापु राष्ट्र हो । लामो समयसम्म बाहिरी संसारबाट अलग रहँदा यहाँका अद्वितीय वन्यजन्तु र जैविक विविधता प्रसिद्ध छन् ।

परम्परागत रूपमा यहाँको अर्थतन्त्र धान, कफी, भेनिला र ल्वाङको खेतीमा आधारित छ । धेरै प्राकृतिक स्रोतहरू हुँदाहुँदै पनि मेडागास्कर अझै दुनियाका सबैभन्दा गरिब देशहरू मध्ये एक हो र ठूलो मात्रामा विदेशी सहयोगमा निर्भर छ ।

हालका वर्षहरूमा आएका भीषण चक्रवातहरूले आर्थिक कठिनाइ अझ बढाएका छन् । १९६० मा फ्रान्सबाट स्वतन्त्रता पाएपछि मेडागास्करले बारम्बार राजनीतिक अस्थिरता, सत्ता परिवर्तन, हिंसक प्रदर्शन र विवादित चुनावहरू भोगेको छ ।

२००९ को सत्ता परिवर्तपछि देश पाँच वर्षसम्म राजनीतिक गतिरोधमा फँसेको थियो, जसका कारण अन्तर्राष्ट्रिय आलोचना र आर्थिक प्रतिबन्धहरू लागेका थिए ।

ताजा सत्ता परिवर्तनअघि राष्ट्रपति रजोएलिना आफ्नो तेस्रो कार्यकालमा थिए । उनले नोभेम्बर २०२३ को विवादित चुनावमा ५९५ मत ल्याएर जितेका थिए ।

तर विपक्ष र उनका केही समर्थकहरूले पनि चुनाव बहिष्कार गरेका थिए । केवल ४६५ मतदाताले मतदान गरेका थिए, जुन देशको इतिहासकै सबैभन्दा न्यून दर थियो ।