काठमाडौं – एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीबाट विभिन्न शीर्षकमा निजी मेडिकल कलेजले बर्सेनि करोडौं असुल्छन्। कलेज प्रशासनले शुल्कको विषय सार्वजनिक गरे निष्कासनको धम्की दिन्छ। अभिभावक निरीह हुँदै तिर्छन्। सन्तानको भविष्य सम्झँदै तैं चुप मैं चुप रहन्छन्।
पाँच वर्षदेखि यो शृंखला जारी छ। त्रिवि पूर्वउपकुलपति प्रा.केदारभक्त माथेमा मेडिकल कलेजले मुनाफामुखी धन्दा चलाएको बताउँछन्। ‘सबै मेडिकल कलेजले नाफा कमाइहाल्छन्। सकेसम्म धेरै मुनाफा आर्जन गर्ने प्रतिस्पर्धा भइरहेको छ। एकैचोटि पैसा कमाउन ध्यान गएको छ’, उनले भने।
सरकारको भूमिका कमजोर भएको र भित्रभित्रै कलेज सञ्चालकसँग अनुचित सम्बन्ध राख्ने गरेको प्रा. माथेमाको दाबी छ। उनले भने, ‘व्यक्ति वा पार्टीले पैसा कमाउने ठाउँ पनि मेडिकल कलेज हुन पुग्यो। त्यही भएर नियमकानुन तोेडेर कलेजले रकम असुलेका हुन्।’
अधिकांश मेडिकल कलेज सञ्चालकहरू प्रमुख राजनीतिक दल नेकपा र कांग्रेसको नेता हुन्। तीमध्ये कतिपय त स्थानीय निर्वाचनमा उम्मेदवारै बनेका थिए। एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसरुद्दिन अन्सारी नेसनल मेडिकल कलेजका सञ्चालक हुन्।
०७४ सालको स्थानीय निर्वाचनमा उनी एमालेबाट वीरगन्ज महानगरपालिकाको मेयरमा उमेदवार बनेका थिए। त्यसअघि ०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार थिए। कलेजको उद्घाटन ०६६ असार २६ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए। यो समाचार आजको अन्न्पूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया