वीरगन्ज – सरकारले तोकेको भन्दा बढी अशुलेको शुल्क फिर्ताको माग गरेका नेशनल मेकिडल कलेज एण्ड शिक्षण अस्पतालको एमबिबिएस तहमा अध्ययनरत विधार्थीलाई कलेज व्यवस्थापनले कुटपिट गरेको छ ।
व्यवस्थापनकै निर्देशनमा कलेज बाहिरका मान्छेले कुटपिट गरेको विद्यार्थीहरुको आरोप छ । साथै ज्यान मार्ने धम्की समेत दिएको उनीहरुले बताएका छन् । शुल्क फिर्ताको माग गर्दै बिहीबार विद्यार्थीहरु कलेज परिसरमा भेला भएका थिए । तर कलेज व्यवस्थापन पक्षले बोलाएका बाहिरका मान्छेहरुले बियरको बोत्तल र इट्टाले समेत प्रहार गरेको उनीहरुको भनाइ छ ।
केही विधार्थीलाई नियन्त्रणमा लिएर कुटपिट गरेको पहिलो वर्षमा अध्ययनरत अक्षय साहले बताए । ‘अतिरिक्त शुल्क फिर्ता गर्नुपर्यो भनेर हामी कलेजको गेटमा भेला भएका बेला बाहिरका गुण्डा लगाएर हामीमाथि इट्टा र बियरको बेत्तल प्रहार गरियो,’ पहिलो वर्ष अध्ययनरत अमित यादवले भने । उनका अनुसार एकजनालाई जबर्जस्ती नियन्त्रणमा लिएर कलेजभित्रै थुनेर कुटपिट पनि गरिएको छ ।
नेशनल मेडिकल कलेजका विधार्थीको समर्थन गर्न चितवन मेडिकल कलेजबाट आएका विद्यार्थी आशुतोष झालाई कलेजमा थुनेर कुटपिट गरिएको विद्यार्थीले बताएका छन् ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया