मुगु – कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव देखिएको छ ।
गाउँपालिका–२ स्थित मालिकाबोटा स्वास्थ्य चौकीमा करीब २ महिनादेखि एन्टिबायोटिकजस्ता महत्वपूर्ण औषधि उपलब्ध नभएको पाइएको हो ।
स्थानीयका अनुसार मालिकाबोटा स्वास्थ्य चौकीमा एमोक्सिसिलिन, सिप्रोफ्लोक्सासिन लगायत औषधि अभाव हुँदा बिरामीहरू उपचारविहीन बन्ने अवस्था आएको छ ।
स्वास्थ्य चौकी इन्चार्ज रतन हमालका अनुसार स्वास्थ्य संस्थामा ९२ प्रकारका औषधि उपलब्ध हुनुपर्ने भए पनि गाउँपालिकाबाट १३/१४ प्रकारका औषधि समेत नियमित रूपमा नआउने गरेको छ । ‘एन्टिबायोटिक औषधि अत्यावश्यक हुन्छन् तर ती नै करीब २ महिनादेखि अभावमा छन्,’ उनले भने ।
उनका अनुसार गाउँपालिकामा औषधि माग फाराम पठाए पनि हालसम्म आपूर्ति हुन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो चौमासिकमै औषधि खरिद गरिसक्नुपर्ने भए पनि ढिलाइ भएको र हालै मात्र गाउँपालिकाको स्टोरमा औषधि पुगेको जानकारी प्राप्त भए पनि स्वास्थ्य चौकीसम्म नआएको उनले बताए ।
स्वास्थ्य चौकीमा दैनिक १०–१५ जना बिरामी उपचारका लागि आउने गरेका छन् । चिसो हावापानीका कारण दम तथा श्वासप्रश्वास सम्बन्धी बिरामीको संख्या बढी हुने गरेको इन्चार्ज हमालले जानकारी दिए ।
औषधि अभावका कारण उपचारका लागि पुगेका बिरामीहरू खाली हात घर फर्किन बाध्य भएको स्थानीयले गुनासो गरेका छन् ।




प्रतिक्रिया