काठमाडौँ – बन्दाबन्दीको मौका छोपी औषधिजन्य सामग्री ओसारपसार गर्ने नाममा केही व्यक्ति लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको पाइएको छ । सो घटनामा संलग्न रहेको अभियोगमा करिब एक सय जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालयले प्रदेश ३–००२–१२ प ७४७९ नम्बरको मोटरसाइकल चढेर काठमाडौँबाट रौतहट जाँदै गरेका नरबहादुर गोलेलाई गत बिहीबार साँझ दक्षिणकाली चाल्नाखेलस्थित खहरे सडक चोकबाट पक्राउ ग¥यो । उनीबाट चार सय ग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार रौतहट चन्द्रनिगाहपुर–४ निवासी अभियुक्त गोले काठमाडौँ प्रहरीको आँखा छलेर दक्षिणकाली हँुदै मोटरसाइकलमा लागूऔषध खैरो हिरोइन, नाइट्रोभेट ट्याब्लेट सात पिस र एक लाख २२ हजार नौ सय रुपियाँ बोकेर गृहजिल्ला घर फर्किंदै थिए ।
बन्दाबन्दी कार्यान्वयनका लागि चाल्नाखेल सडकमा खटिएका प्रहरीले शङ्का लागी सवारी पास तथा मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त परिमाणको लागूऔषध र नगद बरामद भएको महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै बर्दिया जिल्लाको गुलरिया नगरपालिका–६ स्थित सडकमा बा. १२ च ६२९९ नम्बरको गाडी सवारी पासबिना नै गुडिरहेको फेला परेपछि थप अनुसन्धान गर्दा यही बुधबार ४६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गाडीमा सवार कैलाली टीकापुर नगरपालिकाका २८ वर्षीय राजन रावल, लम्की चुवाका २९ वर्षीय रोशन कडायत, दैलेख दुल्लुका २७ वर्षीय आकाश शाह र टीकापुरका ३३ वर्षीय रमेश न्यौपाने पक्राउ परेका छन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया