काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीस राजदूत महामहिम डेनिएल मैवलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
भेटघाटमा राजदूतले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।
भेटघाटको क्रममा राजदूतले २ सरकारबिच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाएका छन् । गृहमन्त्री गुरुङले हाल छलफलमा रहेको बताए ।
नेपाली उच्चपदस्थ व्यक्तिहरूले भष्टाचार लगायतका कसूरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गर/ नगरेको विषयमा अनुसन्धानका लागि २ देशबिच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गृहमन्त्री गुरुङले राजदूतसमक्ष अनुरोध गरे ।
विपद् व्यवस्थापनको क्षेत्रमा गृहमन्त्रीको १ दशकभन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेकोप्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवम् विपद जोखिम न्यूनीकरणका लागि पूर्व चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गृहमन्त्री र नेपालका लागि स्वीस राजदूतले २ देशबिचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर तथा सुदृढ गर्दै परस्पर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गरेका छन् ।




प्रतिक्रिया