काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच आईतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक परिस्थितिबारे छलफल गर्न रास्वपा शीर्ष टोली बालुवाटार पुगेको छ ।
भेटका क्रममा २ नेताबीच वर्तमान राजनीतिक अवस्था, संसद्को प्रभावकारिता र सरकारका कामकारबाहीका विषयमा केन्द्रित रहेर कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समय विकसित राजनीतिक समीकरण र जनसरोकारका मुद्दाहरूमा समेत उनीहरूबीच विचार–विमर्श भएको बताइएको छ ।
राजनीतिक भेटवार्तामा प्रधानमन्त्री कार्कीका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए । रास्वपाका तर्फबाट सभापति लामिछानेसँगै उपसभापति डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू शिशिर खनाल र डा. तोसिमा कार्की लगायत उपस्थित रहेका थिए ।
रास्वपा नेतृत्वले समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र सरकारका आगामी योजनाका बारेमा पनि जिज्ञासा राखेको बताइएको छ ।




प्रतिक्रिया