काठमाण्डु – अबदेखि संसद् बैठकमा उपस्थित हुने सांसदहरूको विद्युतीय हाजिरी हुने र दैनिक सार्वजनिक गर्ने निर्णय भएको छ ।
आज सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तेस्रो अधिवेशनदेखि प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू गर्ने निर्णयअनुसार हाजिरी सार्वजनिक गर्ने व्यवस्था भएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा सांसदहरूको उपस्थिति र सहभागिता बढ्ने अपेक्षा गरेको बताए । ‘गत १ वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयमा प्रश्नहरू उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणाममुखी बनाउन अपिल गर्दछु,’ सभामुख घिमिरेले भने ।
सांसदहरूको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने उनले बताए । उनले भने, ‘माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’
परामर्श समितिको बैठकमा कानून मन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको बताए । ‘कार्यतालिकाले बैठक बस्ने दिनबारे हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ,’ मन्त्री गुरुङले भने ।




प्रतिक्रिया